सैनामैना नगरपालिका वडा नंं १० कोटियाथान टोलमा सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा २४ घण्टे अखण्ड किर्तन भैरहेको छ ।
सोमबार विहान ८ बजे सुरु भएको अखण्ड किर्तन मंगलवार विहान ८ बजेसम्म हुनेछ ।
कार्यक्रमको पूर्व सन्ध्यामा सैनामैना १० को फूलबारी शिबालय मन्दिरदेखि राधाकृष्ण मन्दिरसम्म कलशयात्रा गरिएको थियो । कलशयात्रामा स्थानीय महिला समूह, प्याराडाइज इङलिश स्कुलका विद्यार्थी र शिक्षक, विभिन्न राजनैतिक दल, समाजसेवी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
सोही अवसरमा कलशयात्रामा सहभागी हुने सम्पूर्णलाई झिमझिमिया टोल विकास संस्थाका अध्यक्ष तथा सर्प उद्धारकर्ता सारु कान्छाले फ्रुटी तथा पानी सौजन्य गर्नुभएको थियो ।
सैनामैना नगरभित्रका करिव १४ टिम भजन मण्डलीको २४ घण्ट अखण्ड किर्तनमा सहभागिता रहेको छ ।
सोही अवसरमा बोल्दै श्री राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेले विगतका बर्षहरुमा जस्तै यो बर्षपनि २४ घण्टे अखण्ड किर्तन गरेको बताउनु भयो । उहाँले यो बर्ष सैनामैनाका विभिन्न भजन समूहलाई समेत समाबेश गरेर कार्यक्रम गरिएको बताउनुभयो ।
कार्यक्रम शुभारम्भको अवसरमा सैनामैना १० र ११ का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे र रामप्रसाद भुसाल सहित संचारकर्मी, स्थानीय समाजसेवी, धार्मिक अभियन्ता लगायत स्थानीयको ठूलो सहभागिता रहेको थियो ।







