सैनामैनाका उद्योगी, व्यवसायीहरुले करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । कर तिरे पनि त्यसको सदुपयोग भए, नभएको जानकारी नहुने र कर तिर्नका लागि समेत सास्ती भोग्नु परेको अवस्थामा आगामी दिनमा कर तिर्ने सुरक्षित बाताबरण बनाउन पनि उनीहरुले आग्रह गरेका छन ।
सैनामैना व्यापार संघको आयोजनामा बुधबार सैनामैनाको कलौनीमा भएको करदाता शिक्षा, राजस्वका प्रावधान र तीन तहका सरकारका सम्बन्धित निकायको भूमिका विषयक एक दिने प्रशिक्षण तथा अन्तरक्रियामा सहभागी सैनामैनाका अगुवा व्यवसायीहरुले करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।



व्यापार संघले सैनामैनामा रहेका साना, मझौला, ठूला व्यवसायी एवमु उद्यमीहरुलाई एकै ठाउँमा भेला गरेर कर, राजस्व तथा तिनका क्षेत्र र प्रावधानका बारेमा सम्बन्धित विषय विज्ञहरुमार्फत प्रशिक्षण सञ्चालन गरेको हो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले कार्यक्रमको उदघाटन गर्दै ब्यवसायमा घाटा बढ्नुको मूख्य कारण व्यवसाय सुरु गर्नुभन्दा अगाडी त्यस बिषयमा गहन अध्ययन नगरेको कारण नै हो भन्नुभयो । उहाँले व्यवसाय सुरु गर्नुभन्दा अगाडी व्यवसायीक योजना कसरी बनाउने भन्ने कुरा जान्नु अत्यन्त जरुरी रहेको बताउँदै सैनामैना ब्यापार संघले यस बिषयमा गहन छलफल गरोस भन्ने शुभकामना दिनुभयो ।
सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले सैनामैनामा वस्तुको विक्री वितरण मात्रै होइन, सेवामूलक व्यवसायदेखि उत्पादनमूलक क्षेत्रका व्यवसाय समेत सञ्चालनमा रहेको र तिनै व्यापारी तथा व्यवसायी र उद्यमीहरुलाई एकै ठाउँमा भेला पारेर कर तथ राजस्वका बारेमा जानकारी दिन प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो ।
स–साना किराना पसलदेखि आफैले मालसामान उत्पादन गरेर विक्रीवितरण गर्नेसम्मका व्यवसायी र उद्यमीहरु सैनामैनामै रहेको र करका अनेक प्रवधानका बारेमा सबैमा स्पष्ट जानकारी समेत नहुने भएकाले सम्बन्धित कार्यालयलका विषय विज्ञहरुमार्फत नै प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष पौडेलको भनाइ छ । संघका वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदीले करका दर कम गर्ने र करको दायरा बढाउनेतर्फ तीनै तहका सरकारले ध्यान दिनुपर्छ भन्ने सैनामैनाका उद्यमी, व्यवसायीहरुको साझा माग रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृतहरु खडानन्द खरेल, प्रकाश गौतम, राजस्व अनुसन्धान कार्यालय बुटवलका अधिकृत दिपेन्द्र श्रेष्ठ, सैनामैना नगरपालिकाका कर अधिकृत शिवलाल घिमिरे र राजस्व शाखाका कर्मचारी सुजन भण्डारीलगायतले करका विभिन्न प्रावधान र राजस्वका क्षेत्रहरुका बारेमा सहजीकरण गर्नुका साथै कर र राजस्वका अलग अलग विषयमा प्रशिक्षण दिनुभएको थियो ।
सोही कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले आफूहरुको कार्यक्रमलाई महत्व नदिएर सैनामैना उपप्रमुख आफूहरुको कार्यक्रमलाई चासो नदिई दर खाने कार्यक्रमलाई महत्व दिएर गएको गुनासो गरेका थिए ।




