अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या दुईसय चार पुगेको छ । बाढी पहिरोमा परेर करिव ५० जना अझै बेपत्ता छन् । गृह मन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ ।
गृहमन्त्रालयको आज दिउँसोको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका अन्य जिल्लामा ८५, कोशीमा २१ र मधेशमा तीन जनाको मृत्यु भएको छ ।
बेपत्ता हुनेहरूमा उपत्यकाका २०, बागमतीका ११, कोशीका ७, लुम्बिनीका २ र मधेशका एक जना रहेका छन् । यस्तै ४५ जना घाइतेको उपचार भइरहेको छ । देशभर १३२७ घरमा क्षति पुगेको छ भने राजमार्ग तथा सडकका १९ सडकमा भत्किएका छन् ।
उता विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपदबाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।



बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवम् गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताउनुभयो ।
उहाँले समितिले खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । समितिले मनसुनजन्य विपदका कारण मृत्यु भएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
विगत तीन दिनदेखिको भारी वर्षातका कारण विपद् प्रभावित क्षेत्रमा खोज उद्धारका बाँकी कार्यलाई निरन्तरता दिँदै मौसमजन्य विपद् प्रभावितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वारा प्रणालीबाट तत्काल सुरु गर्ने निर्णय पनि गरेको छ ।
विपदमा घरवास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि विपद् प्रभावित व्यक्तिहरुका लागि सात दिनभित्र अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । यो जिल्ला विपद् व्यवस्थापन समितिबाट उपलब्ध हुने पनि प्रवक्ता तिवारीले बताउनुभयो ।
त्यस्तै राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध भएका सडक खण्डहरु यथाशिघ्र सञ्चालन गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।
यसैगरी, बैठकले विपद् पश्चात फैलिनसक्ने महामारीको आँकलन गरी महामारीजन्य रोग फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्य र उपयुक्त स्थानमा जनचेतना, स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन गर्ने, देशका विभिन्न स्थानहरुमा मनसुनजन्य विपद्का कारण क्षति भएका सडक, सार्वजनिक भवन, खानेपानी, विद्युत, विद्यालय स्वस्थ्य संस्थाहरुको पुनर्निर्माण कार्य सम्बन्धित मन्त्रालयले अघि बढाउने निर्णय पनि गरेको छ ।
यसैगरि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ ।




