शान्ति सामुदायिक वन उपभोक्ता समूह सैनामैना ११ को २२ औं बार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले शान्ति सामुदायिक वन यहीका उपभोक्ता मिलेर गठन गरेको बताउँदै सामुदायिक वनको अवधारणा लागू भएपछि वनको बृद्धि दिनप्रतिदिन भैरहेको बताउनु भयो । उहाँले धेरैलाई लाग्न सक्छ हामीले वन नोक्सान गरिरहेका छौं तर पछिल्लोसमय नेपालको वन क्षेत्र ४५ प्रतिशत रहेको तथ्याँकले नेपालमा वन संरक्षण भैरहेको देखिन्छ र यो खुसीको कुरा हो भन्नुभयो ।



नगर प्रमुख शर्माले शान्ति सामुदायिक वनले विद्यालयलाई सहयोग गरेको, बाटो निर्माणमा समेत सहयोग गरेको, समाजमा राम्रो काम गर्नेहरुलाई पनि सम्मान गर्ने काम गरेर उदाहरणीय बनेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले सैनामैनाका अरु वडाभन्दा १० र ११ नम्बर वडा अरु वडाभन्दा अब्बल रहेको बताउनु भयो ।
उहाँले यो बर्ष शान्ति सामुदायिक वनले सैनामैना ११ का प्रत्येक टोलविकास संस्थालाई ५० हजार रुपैया दिएको उल्लेख गर्दै सामुदायिक बनले सडक, कल्भर्ट निर्माण लगायतका क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो ।
यसैगरी शान्ती सामुदायिक वनका अध्यक्ष हिमलाल अर्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शान्ति सामुदायिक वन हस्तान्तरण हुनुअघि निकै दयनीय अवस्थामा रहेको बताउँदै उपभोक्ताको जागरुकताकै कारण सामुदायिक बन वनाउन सफल भएको बताउनु भयो ।
उहाँले सामुदायिक बनभित्र तारबार, अग्निरेखा, झाडी सफाईदेखि बृक्षारोपण गरिनुका साथै सामाजिक कार्य अन्तरगत मठमन्दिरलाई सहयोग, विद्यालयलाई सहयोग, कञ्चन सिंचाईलाई सहयोग, कञ्चन नदी नियन्त्रण सहयोगदेखि खानेपानी सहयोगदेखि गरिवी निवारणमा वनले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।
शान्ति सामुदायिक वनका अध्यक्ष हिमलाल अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुशीला अर्यालले गर्नुभएको थियो भने उपभोक्ताको तर्फबाट रामप्रसाद घिमिरे, कोटिया टोलबिकास संस्थाका अध्यक्ष मनिराम घिमिरे, सालझण्डी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष तिलकराम घिमिरे, सिंहदर्जा सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष चुडाबहादुर थापा लगायतले शान्ति सामुदायिक वनले सामाजिक क्षेत्रमा पु¥याएको सहयोग महत्वपूर्ण रहेको चर्चा गर्नुभएको थियो ।
सामुदायिक वनका उपाध्यक्ष बुद्धिप्रसाद घिमिरेले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष लेखनाथ भुषालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने साधारण सभाको अवसरमा जेष्ठ नागरिक र एकल महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।




