बडादशैंको सातौं दिन असोज शुक्ल सप्तमीका दिन आज विहिवार दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा फूलपाती भित्राउने कार्यक्रम सम्पन्न भएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्राउने चलन छ ।



रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ११ मा रहेको दुर्गा मन्दिरमा पनि विहिवार फूलपाती भित्राउने कार्यक्रम सम्पन्न भएको छ ।
दुर्गा मन्दिर परिवारको मूख्य आयोजना र नवदुर्गा युवा क्लव, दुर्गा आमा समूह र दुर्गा टोल विकास संस्थाको सहआयोजनामा फूलपाती भित्राउने कार्यक्रम विहिवार सम्पन्न भएको हो ।
स्थानीयले सनातन धर्मको रक्षा गर्न र समाजलाई एकजुट बनाउन र अव आउने नयाँ पुस्तालाई सन्देश दिन हरेक बर्ष बाजागाजासहित गाउँ परिक्रमा गरेर फूलपाती भित्राउने र विसर्जन गर्ने काम गर्दै आएको बताउनुभयो ।
त्यसैगरी स्थानीय बुवाले हिन्दु धर्मको संरक्षणको लागी धेरै पहिलेदेखि नै काम गर्दै आएको बताउँदै हिन्दु संस्कारलाई जीवित राख्न फूलपाती भित्राउने कार्यक्रम गर्दै आएको र आगामी दिनमा यस्ता धार्मिक कार्यक्रमलाई अझै तीब्रता दिने प्रतिवद्धता जनाउनुभयो ।
विहिबार सप्तमीको दिन भित्राइएको फूलपाती बडादशैंको अर्को दिन यस्तै भब्य कार्यक्रमको आयोजना गरि बिसर्जन गरिने दुर्गा मन्दिर समितिले जनाएको छ ।
यसैगरी सप्तमीकै दिन रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा रहेको दुर्गा मन्दिरमा पनि भब्यरुपमा फूलपाती भित्राइएको छ ।
दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुवेदार लोकबहादुर रानाले सप्तमीको दिन दुर्गा मन्दिरमा फूलपाती भित्राउने कार्यक्रम सम्पन्न गरिएको बताउँदै पुरानो अवस्थामा रहेको दुर्गा मन्दिरको पुनर्निर्माण गरि मन्दिरको स्तर उन्नती गरि नयाँ स्वरुप दिएको बताउनुभयो ।
यसैगरी मन्दिरका पुजारी थानेश्वर पोखरेलले मन्दिरमा रहेको पुरानो र अहिले नयाँ बनेको भवन र मन्दिरहरुको सवैको प्राण प्रतिष्ठा गरिएको बताउँदै मन्दिरलाई नयाँ रुप दिन सैनामैना ८ बाँसगढीका स्थानीय जनताले गरेको सहयोगले मन्दिर यहाँसम्म पुगेको बताउनुभयो ।
यसैगरी सैनामैनाको वडा नंं ११ सालझण्डी बजारमा रहेको दुर्गा मन्दिर तथा कलौनी र मुर्गियामा रहेको दुर्गा मन्दिर लगायतका दुर्गा मन्दिरहरुमा पनि विहिवार भब्यरुपमा फूलपाती भित्राउने कार्यक्रम सम्पन्न भएको छ ।
फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथै पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमले बताउनुभयो । फूलपाती भित्राउनका साइतको आवश्यकता नपर्ने उहाँको भनाइ छ । घटस्थापना गरी जमरा राखेपछि शुरु हुने दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ ।




