LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 कात्तिक १४ गते । 

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । 

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि आज बुधबार साँझदेखि नै सुरु गरिँदैछ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता रहेको पनि उहाँले बताउनुभयो ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मङ्गलबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । यस दिनलाई धनत्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय