गुल्मीको सत्यवती ३ ठूलो लुम्पेकमा रहेको सत्यवतीमा ठूलो नाच सोरठी नाच प्रदर्शन हुने भएको छ । ९१ औं सत्यवती मेला २०८१ को अवसरमा उक्त ठूलो नाच सोरठी मारुनी नाच०को प्रदर्शन गरिने भएको साक्टेक नेपालले जनाएको छ।
लोक संस्कृतिको संरक्षण तथा युवा पुस्तामा हस्तान्तरण गर्ने उद्धेश्यका साथ प्रदर्शन गरिने उक्त ठूलो नाचका लागि सत्यवतीको ठूलो लुम्पेक र छिमेकी स्थानीय तहबाट समेत सहभागिता हुने सत्यवती संरक्षण क्षेत्र तथा प्रयर्टन बिकास केन्द्र नेपाल साक्टेक नेपाल०का अध्यक्ष धनराज श्रीसले जानकारी दिनु भएको छ।



नयाँ तथा युवा पुस्ताहरुमा सोरठी तथा ठूलो नाच प्रतिको आकर्षण र प्रोत्साहन गर्न यस वर्षको सत्यवती मेलामा ठूलोलुम्पेक र आसपासका गाउँहरुमा लोकप्रिय भएर पनि लोपोन्मूख अवस्थामा पुगेका मौलिक ठूलो नाच सोरठी मारुनी को प्रदर्शन गरिन लागेको साक्टेक नेपालका अध्यक्ष धनराज श्रीसले कञ्चन खवरलाई जानकारी दिनु भएको छ।
यस बर्ष महायोग जोग भएका कारण पनि सत्यवती बजैको दर्शन र भाकलका लागि बिभिन्न जिल्लाका बिभिन्न स्थानहरुबाट भक्तजनहरुको संख्या बढ्ने भएकाले मेलालाई व्यबस्थापन गर्न सरोकारवालाहरुसंग नियमित छलफल र समन्वय भइरहेको समेत अध्यक्ष श्रीसले जानकारी दिनु भएको छ।
सत्यवती मेलालाई हरेक बर्ष फरक फरक ढंगबाट व्यबस्थापन र आकर्षक बनाउदै जानेक्रममा यसबर्षको मेलालाई अझ व्यापक र भव्य बनाउन लोक संस्कृतिको संरक्षणमा थप टेवा दिन ठूलो नाच प्रति युवाहरुमा प्रोत्साहित गर्न प्रतियोृगितात्मक रुपमा ठूलो नाच सोरठीर मारुनी को प्रदर्शन गरिने तयारी भएको सत्यवतीका सामाजिक अगुवा खोमा तरामुले जानकारी दिनु भएको छ।
यस बर्षको अर्को आकर्षणको रुपमा सत्यवती क्षेत्रमा संचालन गरिएको १० दिने काष्ठ, मुर्तिकला तथा चित्रकला कार्यशालामा गुराँसका ढलापडा मुढाहरुबाट आदीवासी संस्कृति र ज्ञान शिर्षकमा निर्माण गरिएका मुर्ति तथा चित्रकलाहरुको समेत बिशेष प्रदर्शन हुने साक्टेक नेपालका अध्यक्ष श्रीसले जानकारी दिनु भएको छ।
यो बर्ष बुढी सत्यवती बजैको दर्शन गर्नका लागि सत्यवती गाउँपालिकाले रेलिङ्ग सहितको पदमार्ग समेत बनाएको छ। मेलामा राष्ट्रिय कलाकारहरु अर्जुन सापकोटा, सुदिप सिंजाली, टीका पुन मगर लगायत स्थानीय कलाकाहरुको समेत विविध सांस्कृतिक कला प्रस्तुत हुने आयोजकले जनाएको छ।
कार्तिक शुक्ल पूर्णिमाको अवसर पारी हरेक वर्ष आयोजना हुँदै आएको मेला अर्को साताको मँगलबारदेखि शुरु हुने छ । कार्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त मेला हरेक बर्ष जस्तै प्रगतिशील समाज क्वाङद्वारा सत्यवती कप तेस्रो संस्करण पुरुष भलिवल प्रतियोगिता समेत संचालन हुनेछ।
परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । यस वर्ष महाजोग परेका कारण विगतका वर्षभन्दा भक्तजनको सङ्ख्या बढी हुने साक्टेक नेपालका अध्यक्ष धनराज श्रीसले बताउनु भएको छ । तिहारपछिको आउने पूर्णिमामा लाग्ने सत्यवती मेला पूर्णिमा कार्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । उक्त प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बजैले पूरा गरिदिने जनविश्वास रहेको छ । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ ।
सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती क्षेत्र परिसरमा रहेको कुण्ड नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा कुण्डमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेर घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।
सत्यवती बजैसंग भाकल मागी पुरा भएका भक्तजनहरुले कार्तिक शुक्ल पुर्णिमामा बाहेक अन्य समयमा गएर पनि बोका तथा पाठीको बलि दिन सकिने सत्यवी बजैका पूजारी यम बहादुर तरामुले जानकारी दिनु भएको छ। अन्य दि वा समय र महिनामा पुजा गर्न आउने भक्तजनहरुले शुक्ल पक्षको प्रतिपदा तिथि छलेर पूजा गर्न आउनु पर्ने पूजारी तरामुले जानकारी दिनु भएको छ।
यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको पूजारी तरामुले जानकारी दिनु भएको छ।




