उद्योग, वाणीज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीजि क्षेत्रलाई उत्पादनको क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको छ ।
रुपन्देही ब्यापार संघको २५ औं वार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले स्वदेशी उत्पादनमा जोड दिदै लगानीका क्षेत्र र सम्भावनाहरु प्रसस्त हुँदाहुँदै पनि बैंकमा पैसा जम्मा गरेर राख्ने प्रवृत्ति हाबी भएको उल्लेख गर्नुभयो ।
उद्योगमन्त्री भण्डारीले नेपालका ठूला उद्योगीहरु नै निजी बैंकको सञ्चालक रहेको बताउँदै राष्ट्र बैंकमा पैसा थुपारेर ब्याज उठाउने प्रवृत्ति बिकास हुँदै गएकोप्रति दुःख व्यक्त गर्नुभयो ।



सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीति परिवर्तन गर्ने प्रयासमा रहेको बताउँदै मन्त्री भण्डारीले वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएका नीति, कार्यक्रम तथा बजेटलाई नै कार्यान्वयन गरिरहेका कारण धेरै कुराहरु असहमति र सुधार गर्नुपर्ने आवश्यकता समेत रहेको उल्लेख गर्नुभयो ।
एक अर्को प्रसंगमा मन्त्री भण्डारीले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रलाई नेपालकै नमूना औद्योगिक क्षेत्र बनाउने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले मोतिपुर औद्योगिक क्षेत्रको विवादित जग्गा छोडेर बाँकी स्थानमा औद्योगिक क्षेत्र बनाउने उल्लेख गर्नुभयो ।
स्वदेशी उत्पादनमा जोड दिदै उहाँले सरकारले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नका लागि सरकारी कार्यालयहरुमा अनिवार्य प्रयोगका लागि कार्यविधि ल्याउने तयारीमा रहेको उल्लेख गर्नुभयो ।
मन्त्ती अधिकारीले भन्नुभयो– ‘यहाँ केही पनि छैन भनेर विदेश पलायन हुने भाष्य निर्माण भएको छ । कुण्ठा बोकेर विदेश पलायन तथा त्यतै सम्भावना देखेर युवाहरु बुवा–आमालाई नेपाल छाडेर बस्ने प्रचलन आएको छ । अब नेपालमै सम्भावना छ भन्ने वातावरण निर्माणका लागि सरकारले प्रयास गरेको छ ।
यसैगरी रुपन्देहीमा खुला भारतीय सीमा नाकाबाट हुने गतिविधि नियन्त्रणका लागि सरकारले गम्भिर रुपमा लिएको बताउँदै आफ्नो मन्त्रालयले चाडैनै आवश्यक निर्णय लिएर कार्यान्वयन गर्ने दावी गर्नुभयो ।
सरकारले सामान्य ऐन संशोधन गरेपछि भैरहवाको विशेष औद्योगिक क्षेत्र सेजमा समेत उद्योगीहरुको आकर्षण बढ्दै गएको बताउँदै उहाँले थप सुधारका लागि सरकार लागिरहेको उल्लेख गर्नुभयो । विभिन्न बहानामा औद्योगिक क्षेत्र तथा निजी क्षेत्रमाथि भएका प्रहारका बारेमा सरकार गम्भिर रहेको बताउँदै उहाँले लगानी मैत्री वातावरण बनाउने पक्षमा सरकार रहेको उल्लेख गर्नुभयो ।




