LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

काठमाडौँ, मङ्सिर २ गते । बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ ।

पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको छ । गत बिहीबार थाइल्यान्डको बैंककबाट आएको थाई एयर एसियाको विमान भैरहवा माथिको आकाशमा करिब एक घण्टा फन्को लगाउने ‘होल्ड’ भएको थियो । केही दिनयता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेका छन् ।

बिहानका लागि निर्धारित उडान ‘डिले’ हुने गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बिहान हुस्सु र कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भइरहेको छ । बिहानका उडान डिले भइरहेका छन् । केही दिनयता बिहान ११ र १२ बजेपछि मात्रै आकाश राम्ररी खुलेर उडान तथा अवतरण भइरहेको उहाँले बताउनुभयो ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि केही दिनयता बिहान हुस्सु लाग्ने गरेकाले उडान सामान्य प्रभावित भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडो समय भएकाले पनि बिहानको समय हुस्सु बढिरहेको छ । केही दिनअघिदेखि बिहान समस्या रहे पनि मध्यान्ह आकाश खुल्दै जानेक्रम चलिरहेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहान हुस्सु र कतिपय स्थानमा कुहिरो लागेकाले भिजिबिलिटी कमजोर भइरहेको बताउनुभयो । उहाँका अनुसार देशका पूर्वी र मध्य तराई क्षेत्रमा बाक्लो हुस्सु तथा कतिपय स्थानमा कुहिरो लाग्ने गरेकाले हवाई उडानमा समस्या भइरहेको छ । तुलनात्मक रूपमा पश्चिम तराईका विमानस्थलमा यो समस्या कम छ । बिहान चाँडै आकाश खुल्ने गरेको छ ।

मौसमविद् अधिकारीका अनुसार विश्वव्यापी मापदण्डअनुसार एक किलोमिटरभन्दा कम भिजिबिलिटी भएको अवस्थालाई कुहिरो भनिन्छ । एकदेखि पाँच किलोमिटरसम्मको पारदर्शितालाई हुस्सु भन्ने गरिएको छ । अहिले तराई क्षेत्रमा हुस्सु र कुहिरोले बढी समस्या भइरहेको छ । तराईका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।

“अहिले पहाडी र हिमाली क्षेत्रमा पारदर्शिता राम्रो देखिन्छ, नौदेखि १० किलोमिटर पारदर्शिता छ, तर तराईमा हुस्सु, कुहिरोले लाग्दा बढी समस्या देखिएको छ, तराईका धेरै स्थानहरूमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ”, मौसमविद् अधिकारीले भन्नुभयो । तत्कालै वर्षाको सम्भावना नरहेको र लामो समयदेखि वायुमण्डल प्रदूषण भएका कारण पनि हुस्सु र तुवाँलो लाग्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

पछिल्ला दिनमा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले उडान प्रभावित बनिरहेको यात्रुलाई विभिन्न माध्यमबाट जानकारी गराइरहेका छन् । विराटनगर, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, नेपालगन्ज, धनगढी, सुर्खेत, लुम्लिङ्टारलगायत विमानस्थलमा निर्धारित समयमा उडान हुन सकिरहेको छैन । काठमाडौँ बाहिरका विमानस्थल समयमै खुल्न नसक्दा काठमाडौँ विमानस्थलको उडान तालिकासमेत प्रभावित बनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँको भिजुअल फ्लाइट रुल्स ९भिएफआर० उडानमा समस्या नरहे पनि अन्य विमानस्थलको उडान प्रभावित भइरहेको छ । भैरहवा र सिमरा विमानस्थलमा उडान भर्खरै खुलेको छ । आज बिहान झापाको चन्द्रगढी विमानस्थलबाहेक तराई क्षेत्रका सबैजसो विमानस्थल बन्द रहेको र अहिले भिजिबिलिटीमा सुधार आएपछि क्रमशः विराटनगर, जनकपुर, सिमरा, भैरहवा विमानस्थल खुलेको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा ढिला खुलेका भैरहवा र सिमरा विमानस्थल हो । गौतमबुद्ध विमानस्थल आज मध्याह्न १२ः५० मा खुलेको छ । काठमाडौँ बाहिरका गन्तव्यमा उडान डिले भइरहेका छन् । विमानस्थल बिहान ढिला खुलेकाले उडानहरू डिले भइरहेका हुन् । “उडान नियमित भइरहेका छन् तर निर्धारित समयमा हुनसकेका छैनन्”, प्रवक्ता शेर्पाले भन्नुभयो ।

काठमाडौँमा पनि बिहानीपख हुस्सु लाग्ने गरेकाले हवाई उडान सामान्य प्रभावित बनिरहेको छ । अहिले काठमाडौँको आकाशमा भिजिबिलिटी छ किलोमिटर छ । आज बिहान ६ देखि १० बजेसम्म न्यूनतम पारदर्शिता तीन हजार ५०५ सय मिटर रहेको थियो । बिहान ६ देखि १० बजेको समयमा हुस्सु थियो ।

देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाउँदै महाशाखाले कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय