बाँके
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक काममा दलगत आस्थाबाट माथि उठ्नु पर्ने बताउनुभएको छ ।



नेपालगन्जस्थित बैकुण्ठधाम सिधनियाघाट समितिको सचिवालयमा बुधबार आयोजित भेटघाट कार्यक्रममा मुख्यमन्त्री आचार्यले बैकुण्ठधाम निर्माणको काम सामाजिक पुण्यको काम भएकाले आम जनता सबैको साथ र सहयोग हुनुपर्ने बताउनुभएको हो ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, तपाईहरु सबैजना मिलेर बैकुण्ठ धाम निर्माणमा लाग्नुभएको छ, प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्दछु ।
सो अवसरमा बैकुण्ठधाम सिधनियाघाट समितिका अध्यक्ष डाक्टर सुरेश कनोडिया, उपाध्यक्ष भोला महत,डाक्टर बद्री चापागाईं, मीन बहादुर मल्ल लगायतले बैकुण्ठधाम निर्माणको योजनाबारे जानकारी दिनुभयो ।
यसैबिच नेकपा एमाले बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मुख्य मन्त्री आचार्यले बिकासको काममा अगुवाइ गर्न आग्रह गर्नुभयो ।
बाँकेको नरैनापुरमा बुधबार दिउँसो आयोजना गरिने भेलामा सहभागि हुन मुख्य मन्त्री आचार्य नेपालगञ्ज आउनुभएको हो । विकासमा पछि परेको नरैनापुर गाउँपालिकाको विकास निर्माणमा केन्द्रित भइ नेकपा एमालेले नरैनापुरमा बुधबार दिउँसो जनसभा आयोजना गर्दैछ । जनसभामा एमालेका ६ वटा वडा कमिटी र पालिका कमिटीले विभिन्न विषय समेटिएको माग पत्र प्रस्तुत गर्ने एमाले केन्द्रीय सदस्य, निर्वाचन क्षेत्र संयोजक तथा प्रतिनिधि सभा सदस्य सुर्य ढकालले जानकारी दिनुभयो ।
मुख्यमन्त्री आचार्यले खल्ला झगडीयास्थित राप्तीनदीको कटानको स्थलगत अनुगमन तथा केही सामुदायिक विद्यालयको अनुगमन गर्ने कार्यक्रम रहेको छ । एमाले नेता स्व. दिनेशचन्द्र यादवको शालिकमा मुख्यमन्त्री आचार्यले माल्यार्पण गर्नुहुनेछ ।
एमाले बाँकेका उपाध्यक्ष तथा लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीका अनुसार मुख्यमन्त्री आचार्य बुधबार बिहान नेपालगन्ज स्थित बैकुण्ठधाम समितिको सचिवालय पुगेर बैकुण्ठधाम निर्माणको विषयमा जानकारी लिनुहुनेछ




