नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारी अन्तरगत शनिबार विद्यार्थी संगठनहरुसँग छलफल गरेको छ ।
महोत्सवमा स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था तथा अतिथि सत्कारका लागि आवश्यक तयारी स्वरुपमा छलफल सम्पन्न गरिएको हो ।
रुपन्देहीका विभिन्न क्याम्पसहरुमा रहेका मगर विद्यार्थी संघ सम्बद्ध विद्यार्थी प्रतिनिधिहरु सहभागी छलफलमा बोल्दै नेपाल मगर महिला संघ केन्द्रीय सचिव तथा महोत्सव आयोजक समिति सल्लाहकार चन्दा थापाले कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि युवा विद्यार्थीहरुको साथ महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।



मगर महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुले आफ्नो इतिहास, धर्म, सँस्कृति र पहिचान बारे युवा विद्यार्थीले जान्ने बन्नुपर्ने बताउँदै राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा सशक्त बन्नका लागि एक ठाउँमा उभिन आग्रह गर्नुभयो ।
बुटवलको जितगढी किल्लामा आयोजना गरिने महोत्सवका लागि रुपन्देहीका विभिन्न कलेजहरुबाट प्रतिनिधित्व गर्दै ३० जना युवा विद्यार्थी स्वयसेवकका रुपमा खटिने आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिनु्भयो ।
महोत्सवको प्रचार–प्रसारका लागि विद्यार्थी संगठनहले रुपन्देहीका विभिन्न शैक्षिक संस्थाहरुमा पुगेर १० हजार बढी हाते प्रचा वितरण गर्नुका साथै कार्यक्रम बारे जानकारी गराउने भएका छन् । नेपाल मगर विद्यार्थी संघ रुपन्देही अध्यक्ष राजेश सिंजालीको संयोजकत्वमा गठित स्वमय्–सेवक समितिले आइतबारदेखि प्रचार–प्रसारको कामलाई तिब्रता दिने बताउनुभयो ।
दुई दिनसम्म चल्ने महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन, विभिन्न विषयका कार्यपत्र प्रस्तुत तथा श्रष्टाहरुलाई सम्मान गरिने महोसत्व मुल आयोजक समिति संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिनुभयो ।
महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली बैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जे.बी. पुन मगर लगायतसहभागी हुने बताइएको छ ।




