भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु भएको छ । कृषि प्रधान मुलुक भएरपनि किसानले सहजै आफ्नो उब्जाउ भूमिको माटो परीक्षण गर्न पाएका छैनन् ।
यस्तो अवस्थामा महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीले निःशुल्क माटो परीक्षणको व्यवस्था गरेको हो । नेपालगञ्जका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षण सुरु गरिएको आयोजकले जनाएका छन् ।



पछिल्लो समय कृषकहरुले गरिरहेको अन्नबाली र तरकारी खेतीबाट उत्पादनमा आइरहेको ह्रासलाई मध्यनजर गरी माटो परीक्षण सुरु गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो ।
जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश व्यक्ति कृषिमा निर्भर छन् तर, माटो परीक्षणको व्यवस्था नहुँदा चाहेर पनि परीक्षण गर्न सकेका छैनन् ।
पछिल्लो वर्षहरुमा कृषि क्षेत्रमा रासायनिक मलको प्रयोग बढ्दो छ । यसले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । तर, धेरै किसानलाई यसबारे जानकारी छैन । यसबारे जानकारी गराउने र कस्तो माटोमा कुन खेती गर्दा उब्जनी बढी हुन्छ भन्ने जानकारी दिने उद्देश्यले महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु गरिएको आयोजकको भनाई छ ।
आयोजकले महोत्सवमा कृषि प्याभेलियन निर्माण गरेका छन् । उक्त प्याभेलियनमा माटो परीक्षण भइरहेको छ । कृषि व्यवसाय गर्न चाहनेले कस्तो माटोमा कुन खेती गर्दा उब्जनी र मुनाफा हुन्छ भन्ने बारे जानकारी पाउनेछन् ।
मंगलबारदेखि सुरु निःशुल्क माटो परीक्षण २७ गतेसम्म गरी तीन दिन चल्नेछ । भैरहवा तथा यस आसपास रहेका तिलोत्तमा, धकधई, मर्चवार, अमवा, लुम्बिनी, गैडहवा, कंचन, सिद्धार्थनगर लगायतका कृषकलाई लक्षित गरि मेलामै माटोको निःशुल्क परीक्षण गरिएको हो ।




