रुपन्देहीको सैनामैनामा ८ औ राष्ट्रपति रनिङशिल्ड २०८१ आईतबारदेखि सुरु भएको छ । सैनामैना नगर खेलकुद विकास समितिको आयोजनमा सुरु भएको ८ औ राष्ट्रपति रनिङशिल्डको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले उदघाटन गर्नुभयो ।
राष्ट्रपति रनिङशिल्ड उदघाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख शर्माले सैनामैनामा सुरु भएको राष्ट्रपति रनिङशिल्डले खेलकुदप्रति विद्यार्थीमा जागरणसंगै उत्साह र हौसला प्रदान गरेको बताउनुभयो । उहाँले खेलकुदका माध्यमबाट राष्ट्रको पहिचान बढाउन सहयोग पुग्ने बताउँदै भर्खरै सम्पन्न भएको एनपिएलले पनि सवै नेपालीमा क्रिकेटप्रति उत्साह बढाएको बताउनुभयो ।



त्यसैगरी उदघाटन समारोहमा मन्तब्य राख्दै सैनामैनाका निवर्तमान नगर प्रमुख चित्रबहादुर कार्कीले सैनामैना नगरका प्रत्येक वडामा आधारभूत सुविधा भएको खेल मैदान आवश्यक रहेको बताउँदै स्थानीय जनप्रतिनिधिहरुले त्यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
८ औ राष्ट्रपति रनिङशिल्डमा सैनामैना नगरपालिका क्षेत्रका ३३ वटा विद्यालयका करिव ३५ सय विद्यार्थी तथा दुई सय निर्णायकको सहभागिता रहेको छ ।
पुस ११ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न २२ वटा इभेन्टस हुनेछ भने एथलेटिक्स, भलिबल, कराँते, तेक्वान्दो, कपर्दी लगायतका खेल समावेश गरिएको छ । सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन समारोहमा विभिन्न राजनैतिक दल, विद्यालयका प्रतिनिधिहरुले बोल्दै खेलकुद प्रतियोगितालाई सफल बनाउन सवैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको थियो ।




