सैनामैना उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्ण पोखरेल निर्वाचित हुनुभएको छ । बुधबार भएको अध्यक्ष पदको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी प्रेमबहादुर खडकालाई ९ मतले पराजित गर्दै पोखरेल अध्यक्ष निर्वाचित हुनुभएको हो ।
कूल ८७ मत खसेकोमा पोखरेलले ४८ र खडकाले ३९ मत प्राप्त गर्नुभएको थियो । त्यसघि सैनामैना उद्योग वाणिज्य संघको १० औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना उ्रद्योग बाणिज्य संघ सैनामैनाको विकासको साझेदार संस्था रहेको चर्चा गर्दै उद्योग बाणिज्य संघलाई सबलीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।



उहाँले संघलाई आगामी दिनमा यस क्षेत्रकै अब्बल संस्थाको रुपमा यसको पहिचान बनाउन यसको सदस्य संख्यामा बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस क्षेत्रका उद्योगी व्यवसायीलाई समृद्ध, उद्यमी र आत्मनिर्भर बनाउन सकियो भने सैनामैना नगरपालिका पनि समृद्ध नगरपालिकाको रुपमा अघि बढ्ने उल्लेख गर्नुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उज्वल कसजूले सैनामैनादेखि काठमाण्डौं जानुप¥यो भने बुटवल नारायणगढ सडककै अवस्थाका कारण १२ देखि १५ घण्टा लाग्ने अवस्था रहेको बताउँदै बाटोकै कारण नेपालका उद्योगी व्यवसायीको लागत बढ्न जाँदा छिमेकी देश भारत र चिनको सामानसंग प्रतिष्पर्धा गर्न कठिन भएको बताउनुभयो ।
सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खडकाको अध्यक्षतामा भएको उदघाटन सत्रमा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा पत्रकारिता क्षेत्रबाट औद्योगिक विकासमा योगदान दिएको भन्दै साझा टेलिभिजनका सम्पादक छवि पाण्डेलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी उत्कृष्ट उद्यमीको रुपमा सैनामैनाका उद्यमीहरुलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा अध्यक्षको प्रतिवेदन, महासचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।




