“बिना शिक्षा अँध्यारो समाज, घरघरमा पु¥याउँ प्राविधिक शिक्षाको आवाज“ भन्ने मूल नाराकोसाथ सञ्चालन गरिएको रुद्रपुर माध्यमिक विद्यालय कञ्चन ४ अस्नैया रूपन्देहीको स्वर्णमहोत्सव २०८१ ऐतिहासिक महत्व राख्दै भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ ।
पौष २२ गते लुम्बिनी प्रदेशका भौतिक पूर्वधार तथा विकास मन्त्री भूमिश्वर ढकालद्वारा समुद्घाटन गरिएको महोत्सवको समापन समारोह पौष २५ गते बिहिबार पूर्व अर्थराज्यमन्त्री तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत कुमार शाहले गर्नु भएको थियो ।



कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व अर्थराज्यमन्त्री तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत कुमार शाहले यस क्षेत्रमा कृषि प्राविधिक शिक्षा आवस्यक रहेको प्राविधिक शिक्षाले आत्मनिर्भर बनाउने बताउनु भयो।

अव हरेक विद्यालयहरुमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राख्दै आफु देशको पूर्व अर्थराज्य मन्त्री हुँदा भैरहवामा कृर्षि क्याम्पस संचालनको अनुमति दिएको स्मरण गराउनु भयो। नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका शाहले शिक्षा दिने भन्दा शिक्षा ग्रहण गर्ने व्यक्तीले सफलता प्राप्त गरेको ईतिहास रहेको उल्लेख गर्दै शिक्षा विना समाज रुपान्तरणको कुनै परिकल्पना गर्न नसकिने बताउनु भयो।
कार्यक्रममा कञ्चन गाँउपालिका अध्यक्ष नवराज ढकाल, कञ्चन गाँउपालिका वडा न ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, पुर्व विद्यार्थी हिमा बेलबासे, उमा ढकाल गौतम, चन्दादाताहरुको तर्फबाट विद्यालयका शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष तथा जग्गादाता दिल बहादुर दर्लामीलगायतले शुभकामना मन्तव्य राख्दै कञ्चनमा कृषि तथा पशु प्राविधिक शिक्षा संचालनका लागि आवस्यक सहकार्य र समन्वयलाई प्राथमिकता दिइने प्रतिवद्धता जनाएका थिए।

कार्यक्रममा आर्थिक संकलन उपसमितिका संयोजक रुम बहादुर फौजाले विद्यालयको स्वर्णमहोत्सवको अवसरमा रुद्रपुर माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा संचालनार्थ आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद दिदै प्राविधिक शिक्षा पूर्वाधार बिकासका लागि थप सहयोगको अपेक्षा समेत गर्नुभएको थियो।
स्वर्णमहोत्सव २०८१ लाई सफल बनाउन सहयोग गर्ने टोल बिकास, आमा समूह, क्लव तथा विभिन्न संघसंस्थाका प्रतिनीधिहरुलाई सम्मान गरिएको कार्यक्रममा राष्ट्रिय कलाकार तथा भ्वाइस अफ कञ्चन सिजन ६ का कोच एवं पूर्व विद्यार्थी खेम सेन्चुरीको सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष चिरञ्जीवी खनालको अध्यक्षता प्रधानाध्यापक डोलाराम पौडेलको स्वागत तथा विद्यालयका शिक्षक प्रकाश क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।




