राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताउनु भएको छ ।
राष्ट्रिय एकता दिवसका अवसरमा शनिवार एक सन्देश जारी गर्दै उहाँले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पु¥याएको योगदानलाई हामीले बिर्सन नहुने उल्लेख गर्नुभयो ।



राष्ट्रपति पौडेलले भन्नुभयो– ‘पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ ।
राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेका छौँ ।
पृथ्वीनारायण शाहलाई सम्झना गर्दा उहाँको दिव्योपदेशको पनि सम्झना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले लोकप्रिय र सान्दर्भिक दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको बताउनुभयो ।




