सैनामैना नगरपालिका रुपन्देहीको १६ औं नगर सभा सोमबार सम्पन्न भएको छ । त्यसअघि सोमबार नगर सभाको बैठक प्रारम्भ गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना नगरपालिकाको आर्थिक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्न नगर उपप्रमुख बिना रानालाई समय दिनुभएको थियो ।
त्यस अवसरमा विधेयक प्रस्तुत गर्दै उपप्रमुख बिना रानाले सैनामैना नगरपालिकाको आर्थिक ऐन समयानुकूल परिमार्जन, संशोधन र विषयबस्तुलाई थपघट गर्न आवश्यक परेकोले विधेयक नगर सभामा प्रस्तुत गरेको बताउनुभयो । त्यस अवसरमा नगर प्रमुख शर्माले विधेयकमाथिको छलफलमा भाग लिन नगर सभाका सदस्यहरुलाई अनुरोध गर्नुभयो ।



विधेयकमाथिको छलफलमा भाग लिने समय सकिएपछि सैनामैना नगरपालिकाको आर्थिक ऐन २०८१ लाई संशोधन गर्न बनेको विधेयक सभामा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुखले पेस गर्नुभएको विधेयक सर्वसम्मत रुपमा पास भएको थियो ।

त्यसैगरी नगर सभाको अध्यक्षता गर्नुभएका नगर प्रमुख शर्माले सैनामैना नगरपालिकाको प्राईभेट फर्म दर्ता गर्न वनेको विधेयक प्रस्तुत गर्न नगर सभा सदस्य कृष्णप्रसाद घिमिरेलाई समय दिनुभयो । प्रस्तुत प्राईभेट फर्म दर्ता गर्न वनेको विधेयक पनि सर्वसम्मत रुपमा स्वीकृत भएको हो । यसैगरी नगरसभाको शून्य समयमा नगरसभा सदस्यहरुले समसामयिक बिषयमा उठाएका गुनासोहरुको जवाफ नगर प्रमुख शर्माले दिनुभएको थियो ।

त्यसक्रममा नगर प्रमुख शर्माले सैनामैनाका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कियो भन्ने सभाका सदस्यहरुको गुनासोका सन्दर्भमा जवाफ दिदै नगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि प्रयास गरिरहेको बताउँदै सामुदायिक विद्यालयमा बितरण गरिएका ल्यापटप र प्रोजेक्टरको प्रयोग कसरी भैरहेको छ भन्ने निरिक्षण गर्न जनप्रतिनिधिहरुको हैसियतले नगर सभा सदस्यहरुलाई अनुरोध गर्नुभयो ।
नगरसभाको १६ औं नगर सभा सोमबार नै अन्त्य भएको घोषणा गरिएको छ ।




