लुम्बिनी प्रदेश सरकारले यातायात सम्बन्धी सेवा विस्तार गर्ने भएको छ । यातायात क्षेत्रको सुधारका लागि गठित कार्यदलको सुझावका आधारमा यातायात सम्बन्धी सेवा विस्तार गर्ने भएको हो ।
यातायात सम्बन्धी सेवालाई सहज र सबैको पहुँचमा बनाउनका लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायातसम्बन्धी सेवालाई विस्तार गर्ने निर्णयमा पुगेको हो । यातायात क्षेत्रको सुधारका लागि मन्त्रालयले केही समयअघि कार्यदल बनाएको थियो ।
मन्त्रालयले गठन गरेको कार्यदललाई सेवाग्राहीहरूले यातायात सेवालाई विस्तार गरिनुपर्ने र सबैको पहुँचमा यातायात सम्बन्धी सेवा पु¥याइनुपर्ने सुझाव दिएका थिए ।



यो सुझावका आधारमा मन्त्रालयले यातायात क्षेत्रको सुधारको पहिलो योजना बनाउँदै यातायात सेवा कार्यालय विस्तारको कामलाई अघि बढाएको हो । मन्त्रालयले यसै योजना अन्तर्गत पहिलो चरणमा बाँकेको कोहलपुरमा यातायात कार्यालयको शाखा विस्तार गरेको छ ।
मन्त्रालयले बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्नु पर्ने भन्दै मन्त्री परिषदमा सिफारिस गरेको थियो ।
केही दिनअघि बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्बाट भएको निर्णय बमोजिम कोहलपुरमा सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
यसअघि बाँकेको नेपालगन्जमा यातायात कार्यालय रहेको र कोहलपुर आसपासका नागरिकलाई सेवा लिन कठिनाइ बन्दै आएको सुझाव सेवाग्राहीले दिँदै आएका थिए । मन्त्रालयले थप आर्थिक भार नपर्ने गरी यातायात कार्यालयको सेवा विस्तार गर्नेछ ।
शाखा कार्यालयका रूपमा सेवा विस्तार गर्न थालेको मन्त्रालयले शाखा कार्यालयमा कर्मचारीको व्यवस्थापन यातायात कार्यालयबाटै व्यवस्थापन हुने भएका छन् । शाखा कार्यालयका लागि नयाँ कर्मचारी नथप्ने निर्णय मन्त्रालयको छ ।




