पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवल–गोरुसिंगे सडक निर्माण प्रकृयालाई सहज बनाउनुपर्ने बताउनुभएको छ । उहाँले बुटवल–नारायणगढ सडक निर्माणमा भएको सुस्तताले यस क्षेत्रको औद्योगिक तथा व्यवसायीक वातावरणमा समेत खलल पु¥याएको भन्दै त्यसले दिएको शिक्षालाई ग्रहण गरेर बुटवल–गोरुसिङ्गे सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने प्रकया अवलम्वन गर्न आग्रह गर्नुभयो ।
पूर्व गृहमन्त्री खाँणले शुक्रबार बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका अधिकारीहरुलाई भेटेर सडक पूर्वाधार निर्माणमा हुने गतिरोधले अर्थतन्त्रलाई पनि प्रभाव पार्ने र स्थानीयलाई पनि समस्या हुने भएकाले समयमै सम्पन्न गर्नेगरी काम अगाडि बढाउन आग्रह गर्नुभएको हो ।



उहाँले भन्नुभयो–‘बुटवल–गोरुसिंगे सडक निर्माणमा यो समस्या नआउने गरी र समयमै कार्य सम्पन्न गर्नेगरी होस भन्ने हाम्रो चाहना छ ।’
त्यसैगरी लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले पनि सबै बाटो एकै पटक नभत्काई पार्टपार्टमा काम गर्न आग्रह गर्नुभयो ।
यसैगरी पूर्व गृहमन्त्री खाँणले तिनाउ नदिमा बाढीले भत्काएको नदिको तटबन्धन र बेडबारको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँ सिचाईमन्त्री भएका बेला कटान रोक्न तिनाउको दुबैतर्फ तटबन्धन गर्नुको साथै नदिको गहिराई नियन्त्रणका लागि बेडबार निर्माण गरिएको थियो ।
त्यसपछि वर्षेनी वर्षामा आएको बाढीले कतिपय ठाउँमा तटबन्धन तथा बेडबार भत्काईदिएको छ ।
बुटवलको तिनाउपुल माथी र तलबाट समेत सिचाईका बाँधहरु रहेको र नदि गहिरिँदै जाँदा सिचाईको मुहानमा समेत समस्या हुने भएकोले बेडबार बाँधिएको थियो ।




