सामान्यतया चैत वैशाखमा धेरै हुने वन डढेलो यस वर्ष माघमै बढेको छ । हिजो एकैदिन देशका ५२ वटा ठाउँमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।
हिजो सिन्धुपाल्चोकमा मात्रै ९ वटा ठाउँको जङ्गलमा डढेलो लाग्यो । यस्तै बझाङमा ७ वटा ठाउँमा डढेलो लागेको छ । आज पनि देशका १० वटाभन्दा धेरै ठाउँमा डढेलो लागिरहेको विभागको डढेलो अनुगमन प्रणालीले देखाएको छ ।
बितेको एक हप्तामा मनाङको तिमाङ जङ्गल, दोलखाको गौरीशङ्कर, सिन्धुपाल्चोकको भोटेकोशी, गोरखाको धार्चे, धादिङको रुबी उपत्यका, जाजरकोटको नलगाड, डोल्पाको जगदुल्ला, बझाङको साइपाल लगायतका जङ्गलमा निकै ठूला डढेलोका घटना देखिएको वन तथा भू–संरक्षण विभाग अन्तर्गत वन डढेलो नियन्त्रण कक्षका फरेस्टर प्रकाश मल्लले बताउनुभयो ।
यसपालि हिउँदे वर्षा कम भएकोले डढेलोको जोखिम उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको हिउँदमा औसत वर्षाको झन्डै १० प्रतिशतमात्रै पानी परेको छ ।







