प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको शनिवार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढङ्गले चलेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट गर्दै अनावश्यकरूपमा त्रसित नभई न्याय स्थापनामा दृढ ढङ्गले अगाडि बढ्न आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रलीले भन्नुभयो– “तपाईँहरू जनताको अपेक्षा अनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र राम्रो व्यवहारको अपेक्षा गरेको छ । त्यसैले तपाईँहरूले संविधान र कानुन बमोजिम देश र जनताको हितलाई शीरमा राखेर काम गर्नुस् ।



प्रधानमन्त्री ओलीले कुनै तस्कर, भ्रष्ट र ठगहरूमाथि अनुसन्धान गर्दा उल्टै उनीहरूका ठुला कुरा र हप्की सुन्नुपर्ने अहिलेको प्रवृत्ति पनि प्रभावित हुनुहुन्न भन्दै निर्धक्क भएर काम गर्न र मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरीहरू लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरू आफ्नो दुनो सोझ्याउन भित्रभित्र विरोधीसँग साँगसाँठ गर्नु अशोभनीय र घिनलाग्दो स्वार्थ भएको टिप्पणी गर्नुभयो ।
उहाँले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रूपमा स्थापित गर्दै यहाँभित्र मूल्याङ्कन र अवसरका क्रममा आफ्नो तान्ने प्रवृत्ति भए त्यस्ता कमजोरी सच्याएर जानुपर्नेमा पनि जोड दिनुभयो ।




