माइती नेपाल आवधिक गृह भैरहवाले एक वर्षको अवधिमा १ सय ८८ जनाको उद्धार गरेको छ । माइती नेपाल भैरहवाले सन् २०२४ मा १ सय ८८ जना महिला र बालबालिकालाई उद्धार गरेको हो । शुक्रबार भैरहवामा वार्षिक कार्यप्रगति सार्वजनिक गर्दै माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले भारतका विभिन्न स्थानबाट १३ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।
सीमा नाकाबाट उद्धार गरिएकामध्ये ३३ जना रुपन्देही जिल्लाका छन् । जसमा सिद्धार्थनगर नगरपालिकाका ३, तिलोत्तमा नगरपालिकाका ४, बुटवल उपमहानगरपालिकाका ४, सैनामैना नगरपालिका ६, ओमसतिया गाउँपालिका र देवदह नगरपालिकाका ३÷३, सम्मरीमाई, रोहिणी र कञ्चन गाउँपालिकाका २ र २ जना छन् ।



माइती नेपालले बेलहिया नाकामा राखिएको परामर्श केन्द्रबाट ६ हजार ४५ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा रहेको परामर्श केन्द्रबाट १ हजार ९० जनालाई परामर्श दिएको छ ।
दलालहरूले विभिन्न खालका लोभलालच र प्रलोभन देखाएर महिला र बालबालिकालाई लैजाँदै गर्दा, इलाका प्रहरी कार्यालय बेलहियाको सहयोग र समन्वयमा उनीहरूलाई रोक्न र परिवारसँग सम्पर्क गराउने काम भइरहेको प्रमुख क्षेत्रीले बताउनुभयो ।
माइती नेपालले भारतमा पनि आफ्नो कार्यालय स्थापना गरेको छ । भारतमा रहेको कार्यालयमार्फत पनि त्यहाँका प्रहरी प्रशासनसँग समन्वय गर्दै देह व्यापार केन्द्रमा अनुगमन गरी महिला तथा बालबालिकालाई उद्धार गर्दै आएको छ ।
अधिकांश महिला तथा बालबालिका आफ्नै आफन्त र चिनेजानेकाबाट बेचबिखनमा पर्ने गरेको उहाँले बताउनुभयो ।




