सैनामैना नगरपालिका १ रानीबगियामा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले ५१ औं वार्षिकोत्सबलाई साताव्यापी अतिरिक्त क्रियाकलाप गर्दै मनाउन सुरु गरेको छ । सैनामैनाको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा रहेको यस विद्यालय ५१ वर्षअघि २०३१ सालमा स्थापना भएको थियो । सेक्टर वान र टू गरि दुई स्थानमा कक्षा सञ्चालनमा छन् ।
आइतबार एक समारोहबीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवलाल बस्याल र प्रधानाध्यापक नेत्रलाल पुरीले वार्षिकोत्सवका साताव्यापी कार्यक्रमको उदघाटन गर्नुभएको थियो । विद्यालयमा रहेका करिब २७०० विद्यार्थीलाई कक्षागत प्रतियोगितामा विभिन्न विद्यामा प्रतिस्पर्धा गराइने प्रधानाध्यापक पुरीले बताउनुभयो ।



बार्षिकोत्सवको अवसरमा अतिरिक्त क्रियाकलापको समन्वयका लागि शिक्षक टीकाराम सुवेदीलाई जिम्मेवारी दिइएको छ । रिङ र फिल्डका विभिन्न खेलहरु खेलाइनेछ ।
एथलेटिक्सतर्फका खेलहरू फुटबल, भलिवल, क्रिकेट, बास्केटबलमा उमेर समूह अनुसार प्रतिस्पर्धा गराइने अतिरिक्त क्रियाकलाप प्रमुख सुवेदीले जानकारी दिनुभयो । यस्तै सांस्कृतिक कार्यक्रमहरुमा भजन, लोकनृत्यमा पनि प्रतिस्पर्धा गराइनेछ ।
यसपटक नयाँ कार्यक्रम अन्तर्गत विद्यालयले पञ्चेबाजा बजाउने तालिम पनि दिने भएको छ ।
पञ्चेबाजाको तालिम लिएका विद्यार्थीलाई विद्यालयले बाजा समेत उपलब्ध गराउनेछ । ती विद्यार्थीले विद्यालय समयका अतिरिक्त व्यवसायिक रुपमा बाजा बजाउन जान सक्छन् । पढ्दै सिक्दै र कमाउँदैको नौलो कार्यक्रम सुरु गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बस्यालले बताउनुभयो । विद्यार्थीको प्रतिभा र क्षमतालाई मध्यनजर गर्दै विषयगत तालिम सञ्चालन गरिने प्रधानाध्यापक पुरीको भनाइ छ ।




