सैनामैना, ५ फागुन ।
सैनामैना नगरपालिका रुपन्देहीले सामुदायिक विद्यालयमा गरिने लेखा परिक्षणको कार्यबिधि बनाएको छ ।सैनामैना नगरपालिका सामुदायिक विद्यालय लेखा परिक्षण कार्यविधि २०८१ पहिलोपटक राजपत्रमा प्रकाशित गरेको छ ।
यो कार्यविधि गत पुस ९ गते राजपत्रमा प्रकाशित गरेपछि तत्कालै लागू भएको हो ।
सैनामैनाका सामुदायिक विद्यालयको लेखा परिक्षण बापतको शुल्कका नाममा लाखौं रकम अनियमितता हुने गरेको साझा टेलिभिजले सार्वजनिक गरेपछि नगरपालिकाले यस सम्वन्धि अलग्गै कार्यविधि बनाएको हो ।
सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कार्यविधि नहुँदा सामुदायिक विद्यालयबाट लेखा परिक्षणको नाममा अनियमितता हुने गरेको कुरा साझा टेलिभिजनले सार्वजनिक गरेपछि आफूहरुको ध्यानाकर्षण भएको र यसलाई व्यवस्थित गर्न कार्यविधि तयार गरेको बताउनुभयो ।

कार्यविधिमा लेखा परिक्षकको नियुक्ती प्रकृया, काम, कर्तब्य, सेवा सुविधा, जिम्मेवारी लगायतको विषय तोकिएको छ । कार्यविधि नबन्दा सैनामैनाका सामुदायिक विद्यालयले बार्षिक ३० हजारदेखि २ लाख ७० हजार रुपैयासम्म लेखापरिक्षणका नाममा भुक्तानी निकासा हुने गरेको थियो । कार्यविधिमा सामुदायिक विद्यालयबाट लेखा परिक्षकले विद्यालयको आर्थिक श्रोत अनुसार न्यूनतम ५ हजारदेखि अधिकतम ७५ हजारसम्म मात्रै लिन पाउने उल्लेख छ ।
कार्यविधिमै तोकिएको भन्दा बढी रकम दिने विद्यालय तथा लिने लेखा परिक्षकलाई कारवाही गर्ने समेत उल्लेख छ ।




लेखा परिक्षणका नाममा सामुदायिक विद्यालयहरुले अभिभावकहरुबाट अतिरिक्त शुल्कका नाममा उठाएको पैसा लेखा परिक्षणको नाममा अनियमितता हुने गरेको भन्दै साझा टेलिभिजनमा पहिलोपटक गत असोजमा सार्वजनिक भएको थियो ।कार्यविधिमा ‘एउटा लेखा परिक्षकलाई नगरपालिकाभित्रका विद्यालयमा लगातार दुईपटक भन्दा बढी लेखा परिक्षकरुपमा नियुक्त गरिने छैन’ उल्लेख गरिएको छ । त्यसैगरी एउटा लेखा परिक्षकलाई सामान्यतया एक आर्थिक बर्षमा बढीमा तिनवटासम्ममात्र विद्यालयको लेखा परिक्षण गर्न दिन सकिने छ, कार्यविधिमा उल्लेख गरिएको छ । सरकारी बहालवाला कर्मचारीलाई लेखापरिक्षकको रुपमा काम गर्न बन्देज गरिएको कार्यविधिमा उल्लेख छ ।
नगरपालिकाबाट खटाइएको लेखा परिक्षकबाट लेखा परिक्षण नगराएमा उक्त विद्यालयको निकासा नगरपालिकाले रोक्का गर्न सक्ने प्रावधान कार्यविधिमा राखिएको छ । यो कार्यविधि बनेसंगै अव सामुदायिक विद्यालयले अनिवार्यरुपमा नगरपालिकाले तोकेको लेखापरिक्षकबाट मात्रै लेखा परिक्षण गर्नुपर्ने भएको छ ।




