नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाउनु भएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई काठमाण्डौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाउनुभयो ।



अध्यक्ष नेपालले भन्नुभयो– ‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यसले बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुईदलीय शासन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ ।
साना दलहरूलाई समाप्त पार्ने, प्रतिस्पर्धी दलहरूलाई नामेट बनाउने र अनेक किसिमका नियन्त्रणका तरिका अपनाएर देशलाई तानाशाही लागू गर्ने कुचेष्टा सरकारले गरिरहेको उहाँको भनाइ छ ।
उहाँले नेकपा एमाले फुटाएर आफूले सही र जायज काम गरेको समेत दावी गर्नुभएको छ । अध्यक्ष नेपालले एमालेको नाम नलिईकनै दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको जिकिर गर्नुभयो ।
नेपालले एमालेसँग विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा गौरवबोध गरेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गरेर अगाडि बढाएर लैजानका लागि र आफ्नो क्रान्तिकारी दायित्व पूरा गर्न एकीकृत समाजवादी गठन गरेकोमा गौरवबोध भैरहेको दावी समेत गर्नुभयो ।
अध्यक्ष नेपालले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको पनि जिकिर गर्नुभयो ।




