तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको महेश सन्न्यास आश्रम रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा सम्पन्न गण्डकी सभ्यताको संरक्षणका निम्ति गण्डकी विमर्श सभाले कालीगण्डकी नदी संरक्षणका लागि ५ बुँदे ‘गण्डकी घोषणापत्र’ जारी गरेको छ ।
५ बुँदे घोषणामा पवित्र कालीगण्डकी नदीलाई संसारभरका हिन्दू सनातनीको सांस्कृतिक सम्पदा र नेपालको राष्ट्रिय नदीका रूपमा स्थापित गर्न अभियान सञ्चालन गर्ने, कालीगण्डकीको प्राकृतिक स्वरूप र अविरल स्वच्छ प्रवाह सुरक्षित गर्ने, गण्डकीको तल्लो तटीय क्षेत्रसम्म शालग्रामको निर्बाध उपलब्धतामा बाधा–व्यवधान गर्ने मानवीय अतिक्रमण र दोहनको विरोध गर्ने उल्लेख छ।



त्यसैगरि गण्डकीका गर्भक्षेत्रमा हुने मानवीय प्रदूषणको निराकरणका निम्ति जनचेतनाका कार्य गर्ने तथा कृष्णगण्डकीको दुर्लभ महत्व र सौन्दर्यको प्रचारप्रसार गरी धार्मिक पर्यटनको प्रवद्र्धनका निम्ति सन्तहरूको अगुवाइमा कृष्णागण्डकी पदयात्रा आयोजना गर्ने उल्लेख छ ।
वैदिक चेतनाका मूल स्रोत हिमवत्खण्डका पावन हिमशृङ्खलाबाट निःसृत, संसारका सनातनी हिन्दू समुदायको आस्थाको केन्द्र, पवित्र कृष्णागण्डकीको प्राकृतिक स्वरूप र अविरल स्वच्छ प्रवाहलाई संरक्षण गर्दै गौरवशाली गण्डकी सभ्यताको प्रवद्र्धन गर्ने उद्देश्यले आश्रममा विमर्श सभा गरिएको महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्र पौडेलले जानकारी दिनुभयो ।




