रुपन्देहीको कञ्चन गाउँपालिकाको सभाहलमा शनिवार भूमि समस्या समाधान आयोगले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले रुपन्देहीमा सवैभन्दा बढी समस्या कञ्चनमै रहेको तथ्याँकहरुले प्रस्तुत गरेको बताउँदै सवै राजनैतिक दलहरुले चुनावमा जाँदा यो समस्या समाधान गर्ने जनताका सामु बाचा गरेको स्मरण गर्नुभयो । उहाँले राजनैतिक अस्थीरताकै कारण यो समस्यालाई चाहेर पनि छिटो समाधान गर्न नसकेको उल्लेख गर्दै विगतमा केही प्राविधिक तथा कानुनी समस्या बाधक रहेकोले अव आयोग बनिसकेकोले समस्या समाधान हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आायोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालले कञ्चनमा सुकुम्वासी, अव्यवस्थित बसोबासीको संख्या पनि धेरै रहेको र समस्या पनि जटिल रहेकोले आयोगको काम कञ्चनबाट सुरु गर्ने हिसावले आफूहरु कञ्चनमा आएको बताउनुभयो । उहाँले रुपन्देहीको हकमा बुटवल र कञ्चनमा सुकुम्वासी तथा अव्यवस्थित समस्या बढिरहेको बताउँदै प्रदेशको हकमा भने रुपन्देहीमा भूमि सम्वन्धि समस्या रहेकोले आफूहरु यहाँ आएको उल्लेख गर्नुभयो ।



त्यसैगरी कञ्चन गाउँपालिकाका प्रमुख नवराज ढकालले यो अन्तरक्रियाले कञ्चनको कानुनी, प्राविधिक तथा राजस्व सम्बन्धि समस्या सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काम पालिकाले गर्नुपर्ने तथा अधिकार आयोगको केन्द्रसंग मात्रै रहने अवस्था अन्त्य हुने विश्वास ब्यक्त गर्दै भूमि आयोगले जटिलताहरु चिर्दै गाउँपालिकालाई अधिकार हस्तान्तरण गरेर समस्या समाधानको वातावरण बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा आयोगका विज्ञ सदस्य जगत बस्नेतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमका भूमि समस्या समाधान आयोगका रुपन्देही कुमार थापा, आयोगका केन्द्रिय सदस्य अनिलकृष्ण प्रसाईले बोल्दै भूमि समस्या जहाँ बढी छ, त्यही स्थानबाट काम सुरु गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा सहभागीहरुले कञ्चनमा भएका समस्याहरुको बिषयमा जानकारी दिनुभएको थियो ।




