रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सम्पन्न भएको छ । स्टेडियमका निर्देशक विनोद कुँवरले फ्लडलाइट जडान सम्पन्न भएको जनाएका हुन् ।
नेपालमै पहिलोपटक रातको समयमा पनि प्रतियोगिता सञ्चालन गर्ने गरी करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको हो । नेपालको कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलोपटक हो । अब सोमबारदेखि लाइट टेस्टिङ (परीक्षण) को काम सुरु हुने निर्देशक कुँवरले जनाए ।



२०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । अबको एक महिनाभित्र फ्लड लाइट पूर्णरुपमा जडान गरी परीक्षण गरिने कुँवरले बताए ।
यो मैदानमा गत वर्षको फागुनयता एक सय भन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो ।
नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक सूर्य कुँवरले बताए । चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स, चेञ्जिङ रुम र मिडिया बक्स निर्माण अन्तिम चरणमा पुगेको उनले बताए ।
२५ हजार दर्शक क्षमताको प्यारापिटसहित करिब ५० करोड लागतको परियोजनाको ५० प्रतिशत बढी वित्तीय प्रगति भइसकेको कुवरले बताए ।




