रुपन्देहीको मायादेवी गाउँपालिका–२ मा एकजना युवकको गोली हानी हत्या भएको छ ।
मायादेवी–२ डञ्चहवाका २९ बर्षीय राकेश सिंह लोधको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।
मृतक लाेंधको टाउकोमा गम्भीर चोट रहेको प्रहरी प्रमुख राठौरको भनाइ छ । प्रहरीले लोधको हत्या भएको हुने सक्ने जनाएको छ । प्रहरीका अनुसार लोधको आफ्नो दाईसंग अंशबण्डा लफडा रहेको थियो । स्थानीयले भने लोधलाई गोली गोली हानेर हत्या गरेको जनाएका छन् ।



२९ बर्षीय अविवाहित लोध घरमा एक्लै बस्दै आउनुभएको थियो । उहाँका बुबा आमा तथा दाजु भाई अन्यत्रै बस्दै आउनुभएको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीका अनुसार घटना बिहान साढे ७ बजेतिरको हो । प्रहरीले बिहान ८ बजेतिर जानकारी पाएपछि घटनास्थल पुगेको जनाएको छ । प्रहरीले रगताम्य अवस्थामा लोधको शव फेला पारेको थियो ।
दाजुभाइबिच अंश मुद्दामा लफडा चलेपछि अंश विवादमा अदालतमा मुद्दा समेत चलेको पारिवारिक श्रोतले जनाएको छ ।




