प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा मंगलबार आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताउनुभयो ।
श्रमिकको मन प्रशन्न नभइ उद्योग–व्यवसायका काम सहज रुपमा अघि बढ्न नसक्ने जनाउँदै उहाँले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।



नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब हामी परिवर्तनको मर्म अनुसार अघि बढ्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय मान्यता अनुसार संवादको माध्यमबाट सरकार, रोजगारदाता र श्रमिकलाई विन–विन अवस्थामा ल्याउन सक्नुपर्छ । सरकारले तटस्थ बसेर निष्पक्ष निष्कर्ष निकाल्नुपर्छ ।”
उहाँले मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्नेविरुद्ध भ्रम र अवरोध सिर्जना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने आग्रह गर्दै व्यवस्था परिवर्तनपछि विकासको क्रम बढेको स्पष्ट गर्नुभयो ।
हामीलाई देशको विकास र परिवर्तन गर्नुछ । विरोधका लागि विरोध गर्ने प्रवृत्ति आफै सेलाएर जान्छ । यसमा मजदूर आन्दोलन विगतदेखि नै सचेत छ भन्नेमा म विश्वस्त छु” प्रधानमन्त्री ओलीको भनाइ छ ।
हिमालहरु पग्लिएर मानवीय सभ्यता नै प्रभावमा पर्न थालेको सन्दर्भमा प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणाका साथ सहकार्य गर्न विश्व समुदायसँग आग्रह गर्नुभयो ।




