सबै महिला तथा बालिकाका लागि ः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने उद्देश्य यो दिवसको रहेको छ ।



महिला दिवसको अवसरमा शनिवार आयोजित एक कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले महिलाहरू एकताबद्ध भए मात्रै समाज परिवर्तन हुनसक्ने बताउनु भयो ।
शनिबार काठमाडौँमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै रानाले ठुला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गर्नुभयो ।
उपसभामुख रानाले पुरुष र नारी दुवै मिले मात्रै परिवर्तन सम्भव रहेको जिकिर गर्नुभयो । उपसभामुख रानाले भन्नुभयो– ‘हामीले ठुलो ठुलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ । टाइमलाई हामीले समात्न सकेनौँ भने हामी कहिले पनि कतै पुग्न सकिँदैन ।
यसैगरी राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानमा लेखिएका कुराहरू अक्षरशः पालना भए मात्रै सबैको हक र अधिकार सुनिश्चित हुने बताउनुभयो । कानुन बनाउने कुरामा अगाडि भए पनि त्यसको पालना गर्ने कुरामा पछि परेको उहाँको भनाई थियो ।
उहाँले संविधान र कानुनमा लेखिएका कुराहरूलाई ती हिजोका अभ्यास र कतिपय व्यवहारमा लागू हुँदा कसरी लागू गर्ने भन्ने कुराहरू सम्बन्धित निकायमा सम्बन्धित प्रतिनिधिहरूको हातमा हुँदो रहेछ भन्नुभयो ।




