सैनामैना नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को दोश्रो चौमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम विहिबार सैनामैनामा सम्पन्न भएको छ ।
सैनामैना नगरपालिकाको आयोजना र साझा टेलिभिजन एचडीको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सैनामैनाका नागरिकहरुले हरेक पटक उठाउने समस्या र गुनासो यसपटक पनि उठाएका छन ।
सेवाग्राहीहरुले नगरपालिकालाई तिरेको कर सदुपयोग भएको छ कि दुरुपयोग भन्ने विषयमा सेवाग्राहीले जवाफ माग गरेका छन । त्यसैगरी सडकको अवस्था अत्यन्त जीर्ण बनेको, विद्युत पोलहरु ढल्ने अवस्थामा पुग्दा पनि कुनै वास्ता नगरेको, फोहोर मैला सरसफाईको शुल्क बढी भएको, त्यसैगरी टोल विकास संस्थालाई दिदै आएको बार्षिक ३० हजार रुपैया कटौती गरि २० हजारमा झारिएको लगायतका बिषयमा गुनासो राखेका थिए ।



एक सेवाग्राहीले मलमला मन्दिर एकदमै जीर्ण वन्दै गएको भन्दै पूर्व सांसद भरत शाहले मन्दिरको सिढीका लागि बजेट व्यवस्था गरिदिएपछि पछिल्लोसमय कसैले पनि मन्दिरको बिषयमा चासो नदिएको गुनासो गर्नुभयो ।
त्यसैगरी सैनामैनाका सडकको अवस्थामा सुधार नभएको, सैनामैनाको वडा नं. ५ मा सडक पिच गर्न भन्दै भत्काइएको सडक अहिलेसम्म पिच नभएको, विभिन्न स्थानमा रातीमा बत्ती नहुँदा नागरिकले असुरक्षाको महसुस गरेको गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
सेवाग्राही लक्ष्मी ज्ञवालीले नगरपालिकालाई कर तिर्दै आएपनि आफूहरुले तिरेको कर कहाँ खर्च भएको छ भन्ने अहिलेसम्म नागरिकलाई जानकारी नदिएको बताउँदै महिला उद्यमका कार्यक्रम संचालन भएपनि धेरै महिलालाई त्यस बिषयमा जानकारी नदिएको गुनासो गर्नुभयो । त्यसैगरी सेवाग्राही चेतप्रसाद श्रेष्ठले हतारमा सडक बनाउने तर सडक बनाउँदा पहिले नालीको लागि जग्गा नछुट्याउँदा पछि समस्या उत्पन्न भैरहेको गुनासो गर्नुभयो ।
सेवाग्राहीको प्रश्नको उत्तर दिदै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीले दिएका सुझावको विषयमा प्रकाश पार्दै सवै सेवाग्राहीले अत्यन्त महत्वपूर्ण बिषय उठान गरेको बताउनु भयो । उहाँले आगामी दिनमा सैनामैनामा भएका राम्रा कुराहरुको बिषयमा पनि कुरा राख्न सेवाग्राहीसंग आग्रह गर्नुभयो । उहाँले सेवाग्राहीले राखेका जिज्ञासा र मागहरुको बिषयमा नगरपालिकाले सक्दो सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमख बिना राना, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, विभिन्न वडाका वडा अध्यक्षहरुले सेवाग्राहीहरुको जिज्ञासा मेटाउनु भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरणको भूमिका साझा टेलिभिजनका म्यानेजिङ डाईरेक्टर भुवन जिसीले गर्नुभएको थियो ।




