बाँकेको डुडुवा गाउँपालिका– ५ हिरमिनियास्थित जयन्दु बालसुधार गृहमा होली खेल्ने क्रममा सुरु भएको विवाद झडपमा परिणत भएपछि स्थिति तनावग्रस्त बनेको छ ।
शुक्रबार रातिदेखि सुरू भएको झडपले शनिबार बिहान उग्र रूप लिँदा बन्दीहरूबीच कुटपिट, आगजनी, लुटपाट तथा सुरक्षाकर्मीमाथि आक्रमणको अवस्था सिर्जना भएको हो ।



झडपका क्रममा दुई दर्जन बालबन्दी घाइते भएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये हिजो राति घाइते भएका तीन जना कर्तव्यज्यान र तीनजना जबरजस्ती करणी मुद्दामा सजाय पाएका बालबन्दीहरू रहेका छन् ।
अहिलेसम्म बाल सुधारगृहमा बालबन्दीविच झडप हुँदा ६ भन्दा बढी बालबन्दी घाइते भएका छन् । ५० जना जति बालबन्दी प्रहरी नियन्त्रणमा आएका छन् ।
लामो समयको कसरतपछि केहीबेर पहिले मात्र ठुलो संख्यामा बाल सुधारगृहमा पुगेको प्रहरीले सुधारगृहमा छिरेर बालबन्दीलाई नियन्त्रणबाट मुक्त गराउन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।




