बुटवलको सुखानगरमा रहेको दिप बोर्डिङ हाईस्कुलमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुलाई शनिवार एक समारोहका बीच उज्वल भविष्यको शुभकामनासहित विदाई गरिएको छ ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शनिवार कक्षा ११ का विद्यार्थीहरुले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेश बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले दिप बोर्डिङ हाईस्कुलमा अध्ययन गरेको विद्यार्थी अब्बल, योग्य, अनुशासित, जिम्मेवार र लगनशील छ भन्ने कुरा बजारले महसुस गरेको भन्दै आगामी दिनमा पनि विद्यालयको मान, सम्मान र इज्जत राखेर अघि बढ्न विद्यालय परिवारलाई आग्रह गर्नुभयो । उहाँले कक्षा १२ बाट विदाई हुँदै गर्दा विद्यालय र सिंगो देशले नै विद्यार्थीहरुबाट ठुलो आशा गरेको धारणा राख्नुभयो ।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र ध्वजुले विदाई हुँदै गरेका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै भोलिको दिनमा राम्रो र असल मानिस भएर देशको साथै विद्यालयको नाम राख्न विद्यार्थीहरुसंग आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै दिप बोर्डिङ हाईस्कुलका प्रिन्सिपल टिकाराम न्यौपानेले एउटा शिक्षक, परिवार र समाजले एउटा विद्यार्थीबाट ठूलो आशा र अपेक्षा गरेको हुन्छ भन्दै विद्यार्थी भाई बहिनीहरुले ती अपेक्षा पूरा गर्नेछन भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।
उहाँले कक्षा १२ को परिक्षा नजिक आएकोले अव बाँकी रहेको दिनलाई केन्द्रित गरेर अध्ययनमा लगाउन विद्यार्थी भाई बहिनीहरुलाई शुभकामना दिनुभयो ।
कक्षा ११ का विद्यार्थी प्रदिप हमालको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, कक्षा ११ र १२ का संयोजक कमल नेपाल लगायतले बोल्दै कक्षा १२ का विद्यार्थीहरुको उज्वल शैक्षिक भविष्यको कामना गर्नुभएको थियो ।
कक्षा १२ का विद्यार्थी केवल रानाले धन्यबाद ब्यक्त गर्नुभएको कार्यक्रममा विद्यार्थीहरुलाई टिका र माला लगाएर विदाई गरिएको थियो ।




