काठमाडौं, वैशाख २६ – प्रतिनिधिसभाले छिमेकी मुलुक भारत र पाकिस्तानमा बढेको तनावलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षामा सरकारको ध्यानाकर्षण गराएको छ।
शुक्रबार बसेको संसद बैठकमा सांसदहरूले आकस्मिक समयमा यो विषयलाई जोडदार रूपमा उठाएका थिए। सांसदहरूको चिन्तालाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले सरकारलाई विशेष ध्यान दिन आग्रह गरेका छन्।



सभामुख घिमिरेले भने, “भारत र पाकिस्तानबीचको हालको परिस्थितिलाई ध्यानमा राख्दै, त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीहरूको सुरक्षा र उनीहरूलाई पर्न सक्ने सम्भावित समस्याहरूको व्यवस्थापनका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।”
संसदको यो ध्यानाकर्षणले भारत र पाकिस्तानमा रहेका नेपाली समुदायमा सुरक्षाको अनुभूति दिलाउने अपेक्षा गरिएको छ। अब सरकारले त्यहाँको अवस्थालाई कसरी मूल्याङ्कन गर्छ र नेपालीहरूको सुरक्षाका लागि कस्ता कदम चाल्छ, त्यो हेर्न बाँकी छ।




