सैनामैना,१२ बैशाख
नेपाल दृष्टिविहीन उत्थान संघको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको आर्थिक सहयोगमा संचालन भएको अपांगता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तरगत बिउपुँजी वितरण, स्वास्थ्य उपचार र शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपांगता भएकाहरुलाई कुनैपनि क्षेत्रबाट हौसला र सहयोग नभएको अवस्थामा बिउँपुजी र शैक्षिक सामाग्री वितरणले ठूलो सहयोग पु¥याउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य उपचार लिन समेत अरुको सहारा लिनुपर्ने अपांगता भएकाहरुलाई सानो सहयोगले स्वास्थ्यमा टेवा पुग्नुका साथै पुनस्र्थापना, सशक्तिकरण र क्षमता विकासमा सहयोग पुग्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले अपांगता भएकाहरुलाई उत्पादनमूलक आयआर्जनका विभिन्न माध्यमहरुमा जोड्नुपर्ने बताउँदै त्यसबाट अपांगता भएकाहरुको आर्थिक विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो । उहाँले सैनामैना नगरपालिकाले केही समयभित्रै सालझण्डीमा कोसेली घर निर्माण गर्न लागेको र अपांगता भएकाहरुले उत्पादन गरेको सामान कोसेली घरमा राखेर विक्री वितरणमा प्रोत्साहन दिने नीति लिइने बताउनु भयो ।
त्यसैगरी सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरिबहादुर विष्टले अपांगता भएकाहरुलाई सहयोग गर्ने कार्यालयको लक्ष्य रहेको उल्लेख गर्दै बजेटको अभावका कारण सबैलाई यस कार्यक्रममा समेट्न समस्या परेको बताउनुभयो ।
नेपाल दृष्टिविहीन उत्थान संघका अध्यक्ष मुक्तिनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कोषाध्यक्ष शंकर रेग्मीले गर्नुभएको थियो ।




कार्यक्रममा अपांगता भएका ६ जनालाई बिउपुँजी अन्तरगत प्रतिव्यक्ति १० हजार, १३ जनालाई जनही २५ सयको दरले औषधी उपचार बापत आर्थिक सहयोग र १९ जनालाई स्टेशनरी समान वितरण गरिएको थियो ।
अपांगता भएका ब्यक्तिहरुलाई स्वरोजगार बनाउने अभियान अन्तरगत ब्यापार व्यवसाय तथा कृर्षि कार्य गर्नको लागि बिउ पुँजी शिर्षकमा सहयोग रकम वितरण गरिएको हो ।




