रुपन्देहीको सैनामैना नगरपालिका ३ मा रहेको नवदिप बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शुक्रबार बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । समृद्ध समाजको आधार सहकारी शीर्षकमा आयोजित बक्तृत्वकला प्रतियोगितामा सेवा क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत गरि १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रबहादुर कार्कीले बक्तृत्वकला प्रतियोगिता मार्फत सवै भाई बहिनीहरुले उत्कृष्ट प्रस्तुती राखेको कुरा बताउँदै भाई बहिनीहरुले बोलेको कुरा जोड्ने हो भने सहकारीको बिषयमा राम्रो सचेतना कार्यक्रम बन्ने सक्ने बताउनुभयो । उहाँले यो उत्कृष्ट कार्यक्रममार्फत सहकारीलाई स्थापित गराउन र सहकारीले गर्ने कार्यक्रमका बिषयमा जानकारी लिन समेत सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।




सहकारीका अध्यक्ष गणेशकुमार खनालले विद्यार्थी भाई बहिनीहरुमा सहकारप्रतिको भावना जागृत गराउन यो बक्तृत्वकला प्रतियोगिता सार्थक भएको बताउनु भयो । उहाँले धेरै विद्यार्थी अध्ययनकै लागि विदेश गईरहेको बेला पढाई सकेर नेपालमै बसेर सहकारीमा जोडिन र केही गर्नुपर्छ भन्ने सन्देश दिन यस प्रकारका कार्यक्रम सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा लेखा संयोजक दिपक भण्डारी, सल्लाहकार धनबहादुर कार्कीले शुभकामना मन्तब्य राख्दै यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुको जागरण फैलाउन सहयोग पुग्ने बताउनु भयो ।
बक्तृत्वकला प्रतियोगितामा सुनगाभा पब्लिक स्कुलकी कृष्टिना ज्ञवालीले प्रथम स्थान हासिल गर्दै आठ हजार १ सय रुपैया पुरस्कार तथा प्रमाणपत्र हात पारिन । त्यसैगरी न्यू एकेडेमी बोर्डिङ स्कुलकी सुदिक्षा थापाले द्वितीय पुरस्कार प्राप्त गरि ५ हजार १ सय सहित प्रमाणपत्र प्राप्त गरिन । त्यसैगरी प्रभात बोर्डिङ स्कुलकी कृतिमा उपाध्यायले तेश्रो भईन । उनले ३ हजार १ सय रुपैया सहित प्रमाणपत्र प्राप्त गरिन । त्यसैगरी मलमलादेव माविका भुवन जैसीले सान्त्वना पुरस्कार पाउँले १ हजार ५ सय रुपैयासहित प्रमाणपत्र पाए ।
नवदिप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेशकुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सहकारीका शिक्षा उपसमिति सदस्य धनबहादुर रानाले दिनुभएको थियो भने संचालन शिक्षा समितिका संयोजक गोविन्द खरेलले गर्नुभएको थियो ।





