पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विहिवार अध्यक्ष नेपालसहित ९३ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
मुद्दा लाग्नेमा पूर्व कानून मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्त लगायत हुनुहुन्छ । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।



काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाल सहितको बयान लिएको थियो ।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो । तर पछि हदबन्दीभन्दा बढी कानून विपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो ।
अख्तियारमा भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका सांसद माधवकुमार नेपालको पद निलम्बनमा परेको छ ।
उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागेको प्रतिक्रिया दिनुभएको छ ।
अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
पूर्व प्रधानमन्त्री नेपालले भन्नुभयो –‘मेरो नियत भ्रष्टाचार गर्ने होइन, म बाट भ्रष्टाचारका लागि आदेश दिने काम भएको छैन, मेरो राजनीतिक क्यारियर समाप्त पार्ने केपी ओलीको नियत नै हो । पहिला पनि उहाँले पटकपटक यस्तै कोशिस गर्नुभएको हो ।
उता एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दा पूर्वाग्रह प्रेरित भएको जनाएको छ ।




