पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले २०८४ को निर्वाचनमा उथलपुथल हुने दाबी गर्नुभएको छ । बिहीबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा भट्टराईले कांग्रेस, एमाले र माओवादीबिच भएको खुट्टा तानातानका कारण झन् नाङ्गिएर जाने दाबी गर्नुभएको हो ।
पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो– ‘आगामी वर्ष उथलपुथलको वर्ष हुनेछन् । पुराना दलहरू आ–आफ्ना खुट्टा तानातान गरेका छन् । पोल खोलाखोल गरिराखेका छन् । आगामी दिनमा त्यो झन् बढ्दै जानेछ । मुख्य तीन दलका तीन नेताहरूको चर्तिकला झन् बढी नाङ्गिने छ । त्यसअर्थमा यो वृहत् नयाँ वैकल्पिक शक्तिहरू ध्रुवीकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ भन्ने मेरो विश्वास छ ।



भट्टराईले कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन नसकेको समेत जिकिर गर्नुभयो ।
भट्टराईले तीन दलका नेताहरुले १० वर्षका कुर्सी साटासाट गर्ने बाहेक केही गर्न नसकेकाले देशको अवस्थामा परिवर्तन हुन नसकेको दावी गर्नुभयो ।
अहिले मुलुकमा सुशासन कायम हुन नसकेको बरु भ्रष्टाचारका चाङ उदाङ्गो हुन थालेको उहाको भनाई छ ।
उहाँले मुलुकको अवस्था हेर्दा पुराना दलहरुबाट मुलुकको परिवर्तन नहुने देखाएको जिकिर गर्नुभयो । भट्टराईले सरकारले ल्याएको बजेटमा नयाँ कुनै पनि कुरा नरहेको टिप्पणी गर्नुभयो ।




