सैनामैना, १९ असार ।
माध्यमिक शिक्षा परिक्षा (एसइई) मा पहिलोपटक सैनामैनाले इतिहास रचेको छ ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा सैनामैनाको शैक्षिक क्षेत्रका लागि यो इतिहासकै गौरवको कुरा भएको बताउनुहुन्छ ।
यो बर्ष सैनामैनाबाट १० जना विद्यार्थीले जिपिए फोर ल्याउन सफल भएका छन भने एकसय बढी विद्यार्थीले ३ दशमलब ९ जिपिएभन्दा माथि अंक ल्याएका छन । यो सैनामैनाको इतिहासमै नयाँ रेकर्ड हो ।
साझा टेलिभिजनसंगको कुराकानीमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले संस्थागत विद्यालयको नतिजामात्रै होइन, सामुदायिक विद्यालयको नतिजा समेत उत्कृष्ट आउनु गौरवको कुरा हो भन्नुभयो ।
उहाँले नगरको शिक्षा क्षेत्रको विकासका लागि आफूले सकेसम्म प्रयास गर्दै आएको र अहिले आएको परिणामले त्यो नतिजा दिएको उल्लेख गर्नुभयो ।
नगर प्रमुख शर्माले सैनामैनाले दिएको नतिजाले सैनामैना शैक्षिक क्षेत्रको हबको रुपमा विकास हुँदै गरेको प्रमाणित गरेको बताउँदै सैनामैना नगरपालिकाले लिएको शिक्षा नीतिको परिणाम अव देखिने दावी गर्नुभयो ।
सैनामैनाको प्रभात इङलिश बोर्डिङ स्कुल र सुनगाभा पब्लिक स्कुलले यसअघि पनि एसईईमा एक एकपटक फोर जिपिए ल्याउँदै उत्कृष्ट रिजल्ट दिन सफल भएका थिए । त्यसमा गत बर्ष रामापुर माध्यमिक विद्यालयले जिपिए फोर ल्याएर आफूलाई अब्बल प्रमाणित गरेको थियो ।

अहिले १० जना विद्यार्थीको जिपिए फोर आएको छ । यसले सैनामैना नगरको शिक्षा नीति प्रभावकारी र उत्कृष्ट छ भन्ने प्रमाणित पनि गरेको छ ।
नगर प्रमुख शर्माले भन्नुभयो– संस्थागत विद्यालयमात्र नभै सामुदायिक विद्यालयले समेत उत्कृष्ट नतिजा दिएका छन, त्यो एकदमै खुसीको कुरा हो । सैनामैनाको शिक्षाको कुरा देशको कुनाकाप्चासम्म चर्चा भैरहेको छ ।
सैनामैनामा संस्थागत विद्यालयतर्फ प्रभात इङलिश बोर्डिङ स्कुल, सुनगाभा पब्लिक स्कुल र सैनामैना मेमोरियलले यो बर्ष जिपिए फोर ल्याएका छन ।
त्यसैगरी सैनामैना १ रानीबगियामा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय, सैनामैना ६ को रामापुर माध्यमिक विद्यालय र सैनामैना ८ को जनकल्याण माध्यमिक विद्यालयले यो बर्ष एसईईमा जिपिए फोर ल्याएका हुन ।
नगर प्रमुख शर्मा सैनामैनाका विद्यालयले ल्याएको नतिजाले शिक्षा क्षेत्र अब्बल प्रमाणित भएको उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो कार्यकालमा भएको यो प्रगतिको निरन्तरताको समेत कामना गर्नुभयो ।
नगर प्रमुख शर्माले भन्नुभयो– मेरो कार्यकालमा यो उत्कृष्ट नतिजा आएको छ, यो नतिजा सधै उत्कृष्ट रहोस् । सैनामैना शिक्षाको विकासमा सधै अगाडी रहेको देख्न र सुन्न पाईयोस ।
नगर प्रमुख शर्माले विद्यालयको भौतिक संरचनामा सुधार, गुणस्तरीय शिक्षण सिकाई, प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गरिएको तथा विद्यार्थीको सिकाई क्षमता बढाउन ध्यान दिईएकोले अव हरेक बर्ष नतिजामा सुधार हुँदै जाने विश्वास ब्यक्त गर्नुभयो ।







