दाङ – लुम्बिनी प्रदेश सरकारले शैक्षिक गुणस्तरलाई प्रत्यक्ष जनजीवनसँग जोड्ने गरी नयाँ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा प्रणालीलाई उद्यमशिलता, आयआर्जन र रोजगारीसँग सम्बन्धित बनाएर जनताको जीवनस्तर सुधारमा केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्।
सोमबार राप्ती उपत्यकाको देउखुरीमा शिक्षा विकास तथा समन्वय इकाईसँगको समन्वयमा आयोजित समीक्षा बैठकमा मन्त्री तिमिल्सिनाले भने, “शिक्षामा लगानीले भविष्य सुनिश्चित गर्छ, त्यसैले शिक्षालाई जीवनोपयोगी सीपसँग जोड्दै दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ।”



उनले सामुदायिक विद्यालयको व्यवस्थापकीय पक्षलाई मजबुत बनाएर मात्र शैक्षिक वातावरण सुधार्न सकिने उल्लेख गर्दै शिक्षा क्षेत्रमा तीनै तहका सरकारको लगानी आवश्यक भएको बताए। “शिक्षामा गरिएको लगानीले तुरुन्तै नतिजा दिन्न, तर यसको प्रभाव दीर्घकालीन हुन्छ,” उनले स्पष्ट पारे।
शिक्षित बेरोजगारीले सिर्जना गरेको चुनौतीप्रति चिन्ता व्यक्त गर्दै मन्त्री तिमिल्सिनाले प्रदेश सरकारले युवालाई स्वरोजगारमुखी बनाउने गरी कार्यक्रम अघि बढाएको बताए। उनले शिक्षा र सीप विकासलाई जीवनस्तरसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिँदै भने, “शिक्षा नै चेतनाको आधार भएकाले यसमा लगानी र प्राथमिकता बढाउनु जरुरी छ।”




