रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं ७ देउवापारमा रहेको सरस्वती माध्यमिक विद्यालयको ३८ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ ।
बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम न्यौपानेले शिक्षकहरुलाई सम्मान गर्ने बाताबरण बनाउनु जरुरी रहेको बताउँदै तर शिक्षकको नाममा गलत काम गर्नेलाई भने विरोध गर्नुपर्ने बताउनु भयो । उहाँले अव विश्व एआईको जमानामा प्रवेश गरेको अवस्थामा एआइका राम्रा कुरालाई ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एआईले हाम्रा बालबालिकाको सिर्जना गर्ने क्षमतामा ह्रास ल्याउने भन्दै चिन्ता समेत प्रकट गर्नुभयो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राजकुमार चौधरीले यो विद्यालयलाई कसरी राम्रो बनाउने र ग्रामिण क्षेत्रमा रहेको यो विद्यालयमा अध्ययन गर्ने सवै वर्गका विद्यार्थीहरुले कसरी गुणस्तरीय शिक्षा प्रदान गराउने भन्ने बिषयमा विगतका र अहिलेका सवै जनप्रतिनिधि सवैले योगदान गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागि आवश्यक पर्ने बजेटका लागि संघ र प्रदेशमा पहल समेत गरेको बताउँदै आगामी दिनमा पनि विद्यालयको विकासका लागि पहल गरिरहने प्रतिवद्धता जनाउनु भयो ।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोमनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व वडा अध्यक्ष डिलाराम बेलबासे, सल्लाहकार यदुनाथ ज्ञवाली लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक लेखनाथ पौडेलले गर्नुभएको थियो ।
बार्षिक उत्सवकै अवसरमा विद्यालयका शिक्षकहरुलाई सम्मान गरिएको थियो भने विद्यालयको सल्लाहकार समितिलाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरी बार्षिक उत्सवको अवसरमा विद्यालयमा स्थापना गरिएको विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । त्यसैगरी खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।




