माघ २९ सैनामैना ३ मुर्गियामा बिहीबार सम्पन्न ‘फिटनेस टाइम क्लासिक २०८२’ शारीरिक सुगठन प्रतियोगिताको उपाधि विज्ञान थापाले जितेका छन्। फिटनेस टाइम जिम क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा थापाले फाइनल चरणका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै च्याम्पियनको ट्रफी उचालेका हुन्।
उपाधिसँगै थापाले नगद ६ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे। कुल पाँच विधामा भएको प्रतिस्पर्धामा उनले अन्य १४ जना खेलाडीलाई पछि पार्दै मुख्य उपाधि आफ्नो पक्षमा पारेका थिए।



फिटनेस टाइम जिम क्लब का सञ्चालक कृष्ण श्रेष्ठ ले आगामी चैत ६ र ७ गते बुटवलमा हुने ‘रामापिथेकस राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता’ को तयारी स्वरूप यो कार्यक्रम आयोजना गरिएको बताउनु भएको थियो।
अन्तर्राष्ट्रिय शारीरिक सुगठन खेलाडी कृष्ण श्रेष्ठले सञ्चालन गरेको यस क्लबले सैनामैना नगरपालिकामा पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरेको हो ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष सितु प्रसाद श्रेष्ठको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा रूपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष राजकुमार श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष खेम श्रेष्ठ, मुर्गिया इलाका प्रहरी कार्यालयका निरीक्षक प्रह्लाद केसी लगायत स्थानीय खेलकुद प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।




