वैशाख १२ गते
घोराहीमा सम्पन्न ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ मा पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजेता बन्नुभएको छ ।



लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार घोराहीमा भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपाली सेनाका खेलाडी प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । पुरुषतर्फ खड्काले १० किलोमिटर दूरी ३० मिनेट ३३ सेकेन्डमा पूरा गर्नुभयो भने महिलातर्फ न्यौपानेले ३६ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्नुभयो । प्रथम हुने दुवैले ८०÷८० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यसैगरी, पुरुषतर्फ सशस्त्र प्रहरीका रुपेश कार्कीले ३१ मिनेट १३ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान हासिल गर्दा नेपाली सेनाका उमेश थापा ३१ मिनेट ५२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थानमा रहनुभयो ।
महिलातर्फ नेपाली सेनाकी निर्मला केसी ३७ मिनेट ४५ सेकेन्डका साथ दोस्रो हुँदा एपिएफकी सम्झना गुरुङ ३९ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुनुभयो । दोस्रो र तेस्रो हुने पुरुष तथा महिला खेलाडीलाई क्रमशः ४५ हजार र २५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुरुषतर्फ नेपाली सेनाका अक्कल पालले ३२ मिनेट २ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हासिल गर्दा महिलातर्फ एपिएफकी फूलमाया रानाले ३९ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान प्राप्त गर्नुभयो । सान्त्वना स्थान प्राप्त गर्ने दुवै खेलाडीलाई १५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले खेलकुदको विकास, विस्तार तथा नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले विगत वर्षको तुलनामा यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको उल्लेख गर्दै आगामी दिनमा अझै बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराउने बताउनुभयो ।
प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा खुला समूहबाट एक हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।




