११ असार,
रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
बुधबार सैनामैना नगर सभाको नवौ अधिवेशनमा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षालाई प्राथमिकता दिदै बजेट सार्वजनिक गर्नुभएको हो ।
यो बजेट चालू आर्थिक बर्षको भन्दा २० करोडले बढि हो ।
सैनामैना नगरपालिकाले गत बर्ष चालू आर्थिक बर्षका लागि १ अर्ब ३४ करोड ८३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षतामा भएको सैनामैना नगरपालिकाको नवौ अधिवेशनमा चालु तथा वित्त व्यवस्थापन ६३ करोड ९ लाख ६९ हजार रुपैया तथा पुँजीगततर्फ ९२ करोड ५८ लाख २७ हजार रुपैया विनियोजन गरिएको छ ।
“सैनामैना समृद्धिको आधार ः उत्पादन, पर्यटन र पूर्वाधार” भन्ने नारालाई साकार पार्ने उद्देश्यले प्रस्तुत बजेटमा सैनामैनामा वर्षौदेखि बसोबस गर्दै आएका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गाधानी दर्ता प्रमाण–पत्र वितरण गर्न र बाँकी जग्गा नापजाँचको लागि ५० लाख विनियोजन भएको छ ।
यस्तै कृषि तथा सिचाई क्षेत्रतर्फ ९५ लाख, रैथाने बाली संरक्षण, चैते धान प्रवद्र्धन लगायतका लागि १४ लाख विनियोजन गरिएको छ ।
क्षेत्रगत विनियोजनको हिसाबले आर्थिक विकासतर्फ ७ करोड १ लाख ३० हजार, सामाजिक विकासतर्फ ३२ करोड ४० लाख ७६ हजार, पूर्वाधार विकासतर्फ ७८ करोड ३७ लाख ५३ हजार, वन, बाताबरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड ५२ लाख ७५ हजार र सुशासन तथा सेवा प्रवाहतर्फ ३४ करोड ३५ लाख ६२ हजार विनियोजन गरिएको छ ।
उपप्रमुख रानाले प्रस्तुत गर्नुभएको बजेटमा सैनामैना नगर अस्पताललाई थप जनशक्ति र स्रोत साधनको व्यवस्था गर्न संघीय सरकार र नगरपालिकाबाट १ करोड १० लाख रुपैया विनियोजन गरिएको छ ।



उत्पादन साथमा अनुदान हातमा भन्ने अभियानलाई निरन्तरता दिएको छ भने मासु तथा दुध उत्पादन गर्ने किसानलाई उत्पादनको आधारमा अनुदान दिन २९ लाख ५० हजार विनियोजन गरिएको छ ।
त्यसैगरी महिलाहरुलाई स्वरोजगार र उद्यमी बनाउन महिलासँग उपप्रमुख कार्यक्रम अन्र्तगत तालिम प्राप्त अति बिपन्न महिलाहरुलाई ब्यवसायिक बनाउन सिपमूलक कार्यक्रमका लागि २० लाख रुपैया विनियोजन गरिएको छ ।
नगरको भू–जल सतहलाई स्थायित्व ल्याउन, वर्षाको पानी पुनर्भरण प्रणाली प्रवद्र्धन गर्न र वातावरणीय सन्तुलन कायम राख्न “एक वडा एक पोखरी“ कार्यक्रम र लेडुवा पोखरी र मेघाहवा ताल थप पुर्वाधार निर्माण तथा संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
उज्यालो सहर सैनामैनाको रहर भन्ने नारालाई पूर्णता दिन नगरका मूख्य तथा सहायक मार्गहरुमा स्मार्ट सडक बत्ती जडान गर्ने, उज्यालो नमूना थारु गाउँ अभियानलाई आगामी बर्ष सम्पन्न गर्न निर्माण हुन बाँकी रहेका बस्तीहरुमा सडक सडक तथा नाली निर्माण गर्ने, सडक बत्ती जडान गर्ने तथा बस्तीका घर तथा भित्तामा थारु सांस्कृतिक चित्रकला निर्माण गर्न १ करोड ५० लाख विनियोजन गरिएको छ ।
पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, नसर्ने रोगको स्क्रिनिङ तथा जनचेतनामूलक कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ । मृगौला प्रत्यारोपण गराएका, डाईलासिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्डको पक्षघातका विरामीलाई औषधी उपचार गर्न मासिक ५ हजारका दरले रकम उपलब्ध गराउने बजेटमा उल्लेख छ ।




