कार्तिक १२, काठमाण्डौं
स्थानीय तहको आसन्न निर्वाचनलाई लक्ष्य गर्दै पार्टीलाई एकताबद्ध बनाउन एमालेले आगामी २ र ३ मंसिरमा काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका प्रमुख तथा उपप्रमुख, संघीय र प्रदेश सांसदहरू सहभागी हुनेछन् ।



पार्टीभित्र नेतृत्व पुनर्गठन र नीतिगत बहसबाट उत्पन्न अन्तरसंघर्षलाई थाती राख्दै एमाले स्थानीय तहको निर्वाचनको तयारीमा लागेको हो । राष्ट्रिय भेलामा पार्टी कमिटीहरूलाई एकताबद्ध र क्रियाशील बनाउने तथा निर्वाचनका लागि कार्ययोजना तय गर्ने एमालेको तयारी छ । भेलामा करिब तीन हजार तीन सय नेता सहभागी हुनेछन् ।
असोज पहिलो साताको केन्द्रीय कमिटी बैठकले गरेका प्रमुख निर्णयलाई भेलामार्फत कार्यान्वयनमा लैजाने एमालेले जनाएको छ ।
एमाले सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार मुलुकको जटिल राजनीतिक परिस्थितिमा परिचालित हुन सचेत गराउने पनि भेलाको मुख्य उद्देश्य रहेको छ ।भेलामा एमालेको सक्रिय राजनीतिमा आएकी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई औपचारिक रूपमा जिम्मेवारीसहित अघि सार्ने तयारी छ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले भेलामा तीन वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो ।
भेलापछि २८ मंसिरमा वडा र ४ पुसमा पालिका अधिवेशन गर्ने एमालेको निर्णय छ ।




