नेकपा एकीकृत समाजवादी का महासचिव घनश्याम भुसालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्नै पर्ने बताएका छन् ।
यसमा अलिकति मिहिनेत गर्नु पर्नेमा जोड दिए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवामा आयोजना गरेको रुपन्देही क्षेत्रका आर्थिक मुद्दा समस्या र समाधान विषयक छलफल कार्यक्रममा भुसालले यस्तो बताएका हुन् ।



नेता भुसालले राजनीतिक रुपमा आफू केही समय ‘डिस्टर्ब’ भएको र व्यवस्थित हुन नपाएको भन्दै अब रुपन्देहीका समस्या समाधान गर्न लागि पर्ने बताए । उनले आफू एक्लैले समस्या समाधान गर्ने कुरा नगर्ने र यस्तो भन्न पनि नहुने बताए । कार्यक्रममा उद्योगी–व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि राज्यले ध्यान नदिएको गुनासो गरेका छन् ।
त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विमानस्थल सञ्चालन गर्ने तर्फ सरकार र राजनीतिक नेतृत्वको ध्यान पुग्न नसकेकाले पटक पटक दबाबमूलक कार्यक्रम गर्दै आएको बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले विमानस्थल सञ्चालनका लागि संघ संस्था,नागरिक समाजले गुहार गरिरहेको भएपनि राज्यले नसुनेको बताए । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भीष्म प्रसाद न्यौपानेले राज्यले उद्योग व्यवसायलाई बचाउनुपर्ने धारणा राखे ।




