नेपाली कांग्रेस १५ औं नियमित महाधिबेशन पक्षधरको प्रदेश सभा क्षेत्र र रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय अधिबेशन विहिवार लुम्बिनीको महिलवारमा सम्पन्न भएको छ ।अधिवेशनको उदघाटन गर्दै केन्द्रिय प्रतिनिधि नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले नेपाली कांग्रेसले १५ औं महाधिवेशनको तयारी अन्तरगत विभिन्न जिल्लामा अहिले वडा, क्षेत्र तथा जिल्ला अधिवेशन गरिरहेको बताउँदै महाधिवेशनबाट आउने नेतृत्वले नेपाली कांग्रेसलाई बलियो संगठनको रुपमा स्थापित गर्ने वताउनु भयो ।

त्यसैगरी अधिवेशनमा विशिष्ट अतिथि नेपाली कांग्रेस रुपन्देहीका संयोजक गुणाखर भुर्तेलले विशेष महाधिवेशनको नाममा कांग्रेस सभापति शेरबहादुर देउवालाई अपमान गरि गगन थापाले सभापति पद हत्ताएको आरोप लगाउने भयो । उहाँले अपराधीको झुण्डबाट आफूहरु अलग रहेको दावी गर्दै नेपाली कांग्रेसलाई सत्मार्गमा हिँडाउने आफूहरुको अभियान कहिल्यै परास्त नहुने बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेलले पार्टीबाट धेरै कांग्रेसका नेता कार्यकर्तालाई अपमानजनक तरिकाले बाहिर निकाल्ने प्रयास भएको भन्दै आफूहरु अपमान सहेर कदापि बस्न नसक्ने बताउनु भयो ।



कार्यक्रममा जिल्ला सहसंयोजक भरथरी यादव, लुम्बिनी प्रदेश सदस्य लिलाकुमारी पौडेल, युवा नेता आशिष शर्मा, लुम्बिनी प्रदेशकी पूर्व सभासद रमा अर्याल लगायतले बोल्दै नेपाली कांग्रेसलाई नियमित १५ औं महाधिवेशनबाट एक सशक्त पार्टीको रुपमा स्थापित गर्ने बताउनु भएको थियो ।

नेपाली कांग्रेस १५ औ नियमित महाधिवेशन पक्षधर क्षेत्रीय समिति क्षेत्र नंं ५ को आयोजनामा भएको क्षेत्रीय अधिवेशन उदघाटनको अध्यक्षता क्षेत्र नंं ५ का संयोजक कमलप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो । अधिवेशनले कांग्रेस रुपन्देही क्षेत्र नं. ५ को नयाँ नेतृत्व चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेको बताइएको छ ।




