१६ कात्तिक,
रुपन्देही जिल्ला समन्वय समितिले घरको नक्सा पास नगरी कुनै पनि संरचना निर्माण नगर्न र नगराउन स्थानीय तहलाई आग्रह गरेको छ।



समितिले आयोजना गरेको घुम्ती बैठकमा जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईले नक्सा पाससम्बन्धी कार्यविधि नभएका पालिकालाई तत्काल कार्यविधि बनाएर नक्सा पास अनिवार्य गर्न आग्रह गर्नुभयो।
उहाँले धानको पराल जलाउने कार्य रोक्न पनि स्थानीय तहलाई सचेत गराउनुभयो। पराल जलाउँदा माटोको उर्वराशक्ति घट्नुका साथै वायु प्रदूषण बढ्ने र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उहाँको भनाइ थियो।
त्यस्तै, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले आर्थिक वर्षको अन्त्यमा मात्रै ठेक्कापट्टा तथा बजेट कार्यान्वयन गर्ने प्रवृत्तिले स्थानीय तहको कार्यसम्पादनमा प्रश्न उठ्ने गरेको बताउनुभयो। उहाँले सार्वजनिक जग्गा अतिक्रमण रोक्न र अदालतका निर्णय कार्यान्वयन गर्न पनि स्थानीय तहलाई आग्रह गर्नुभयो।
बैठकमा प्रहरी प्रमुख जनकबहादुर शाहीले शान्ति सुरक्षा कायम गर्न स्थानीय तहसँग सहकार्य आवश्यक रहेको बताउँदै चाडपर्वका नाममा चर्को आवाजमा डिजे बजाउने कार्य नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो।




