सैनामैना, चैत १८ ।
इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले सैनामैना ३ निवासी प्रदिप थापालाई बैकिङ कसुर तथा ठगी आरोपमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्ला अदालत पाल्पाको आदेश लिएर सैनामैना ३ निवासी प्रदिप थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको र पाल्पा प्रहरीले इप्रका रन्यौरालाई पक्राउ गरि सहयोग गर्न पत्राचार गरेपछि इप्रका रन्यौराले गए राती थापालाई पक्राउ गरेको हो ।



सैनामैना नगरपालिका ३ बस्ने भक्तबहादुर थापाको छोरा २८ बर्षका प्रदिप थापाले सम्राट कार्कीसंग अस्टेलियामा पटकपटक गरि लिएको २८ लाख रुपैया नेपाल आएपछि फिर्ता गर्छु भनेकोमा नेपाल आएपछि खातामा पैसा नभएको चेक दिएर बैकिङ कसुर गरेको पाईएको थियो । थापाले गत कार्तिक २९ गते आफूसंग नगद नभएको र बैंकबाट लिनु भनी सम्राट कार्कीको नाममा एनआईसी एसिया बैंकको चेक काटेकोमा उक्त खातामा पैसा नभएपछि चेक बाउन्स भएको थियो ।
सम्राट कार्कीले प्रदिप थापाले दिएको चेक तानसेन नगरपालिका ४ मा रहेको ज्योति विकास बैंक लिमिटेडमा तीनपटक जम्मा गर्दा पनि चेक बाउन्स भएपछि जिल्ला अदालत पाल्पामा चेक बाउन्सको मुद्दा दिएका थिए । त्यसपछि जिल्ला अदालत पाल्पाले निज प्रदिप थापालाई यही चैत ५ गते जिल्ला प्रहरी कार्यालय पाल्पालाई पक्राउ अनुमति दिएको थियो । पाल्पा प्रहरीले निज बैकिङ कसुरका आरोपी प्रदिप थापा सैनामैनामा लुकिछिपी बसेको भन्दै खोजी गरि पक्राउ गर्न सहयोग गरिदिन इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीलाई अनुरोध गरेको थियो । प्रहरीले थापाबाट अन्य कोही ठगिएको भए प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।




